कवि बाबुषा कोहलीको परिचय
कवि बाबुषा कोहलीको जन्म ६फरवरी, १९७९, मा कटनी मध्यप्रदेशमा भएको हो । उनी हाल केन्द्रीय विद्यालय, जबलपुरमा कार्यरत छिन् । उनको पहिलो कविता-सङ्ग्रह ‘प्रेम गिलहरी दिल अखरोट’ भारतीय ज्ञानपीठबाट प्रकाशित तथा पुरस्कृत छ । यो गद्य कविताको सङ्ग्रह हो ।उनको ‘बावन चिट्ठियाँ’ पुस्तक रज़ा पुस्तकमालाअन्तर्गत प्रतिष्ठित राजकमल प्रकाशनबाट प्रकाशित छ र यस कृतिले वागीश्वरी पुरस्कार प्राप्त गरेको छ । उनको गैरआख्यानको पुस्तक ‘भाप के घर में शीशे की लड़की’ रुख़ पब्लिकेशन्सबाट प्रकाशित छ ।
बाबुषा कोहली समकालीन हिन्दी कवितामा एउटा छुटाउन नहुने नाम हो।उनका कविताहरूले जीवन सरोकारका विभिन्न मुद्दाहरूलाई कलात्मक ढङ्गले उठाएकी छन्। प्रयोगकालीन जटिलताको धङधङी उनका कवितामा पाइन्छ । बिम्बबिधान तथा प्रतीक योजनाका दृष्टिले उनी आफ्नो मौलिक पहिचान बनाउन सफल कवि हुन् । उनले दुई लघु चलचित्र ‘जंतर’ तथा ‘उसकी चिट्ठियाँ’को निर्माण तथा निर्देशनसमेत गरेकी छन् । भाषान्तर कविताको यस अङ्कमा बाबुषा कोहलीका सात चर्चित कविताहरूको नेपाली अनुवाद प्रस्तुत गरिएको छ । पाठकको सुविधाका लागि कोष्ठकमा अनूदित कविताको मूल शीर्षक हिन्दीमा पनि दिइएको छ । (अनुवादक)
१. इच्छापत्र…
(वसीयत…)
बाबुषा कोहली
सफा गर्नू मेरो कोठा म मरेपछि
खोज्नू एक एक चिज
घरभरि बिनाताल्चा छरिएका छन् मेरा सामानहरू
मेरा सपनाहरू ती महिलाहरूलाई दिएर पठाउनू-
जो भान्सादेखि सुत्ने कोठासम्म खुम्चिएको आफ्नो संसारमा हराएका छन्
मेरा हाँसोका खित्काहरूवृद्धाश्रमका ती बुढाहरूलाई दिनू-
जसका छोराछोरी हराएका छन् अमेरिकाका जगमगाउँदा सहरहरूमा
हेर्नूमेरो टेबलमा- केही रङहरू होलान् त्यहाँ
ती रङले रङ्गाइदिनू त्यो बिधवाको साडी-
जसको पतिको रगतले रङ्गिएको छ देशको सिमाना
जो हिजै मात्र सुतेको हो देशको झन्डा ओडेर
मेरो चञ्चलता मेरो आनन्द
भरिदिनू तिनका नसा नसामा-
झुकेका छन् जसका काँध गह्रौँ किताबका झोलाले
मेरा आँसु दिनू ती सबै कविहरूलाई
मलाई विश्वास छ- हरेक थोपाले उत्पन्न गर्ने छन् कविता !
मेरो मान मेरो इज्जत त्यो यौनकर्मी महिलाको नाममा समर्पित होस्-
छोरी पढाउनका लागि बेच्छे शरीर जसले
यो देशका हरेक युवकलाई
समातेर लगाइदिनू इन्जेक्सन मेरो आक्रोशको
यो आवश्यक पर्ने छ तिनलाई क्रान्तिको समयमा
मेरो पागलपन त्यो भक्त सुफीको भागमा पर्छ-
सबैथोक त्यागेर जो निस्केको छ ईश्वर अल्लाहको खोजीमा
अब बाँकी रहे-
मेरा ईष्या, मेरो लालच, मेरो क्रोध
मेरा मिथ्याहरू, मेरो स्वार्थ
यसो गर्नू-
तिनलाई मसँगै जलाइदिनू…
***
२. यात्रा
बाबुषा कोहली
हिँड्नुअघि आफ्नो खल्तीमा मैले
हालेकी थिएँ केही सपनाहरू
ती दिनहरूमा सूर्यको ताप थियो मेरा आँखामा
चम्किला सपनाहरू थिए- मेरा आँखामा हेरिरहेका सूर्यमुखी
पाइतालामुनि पसारिएको सडक
हिँड्थ्यो मभन्दा धेरै
एक दिन त्यो कुनै उर्लेको नदी जसरी
यो ग्रहको बाँध भत्काएर निस्कियो बाहिर
अन्तरिक्षमा एक खर्ब सालदेखि खडेरी परेको छ
त्यो कस्तो समय थियो जब
गोडाहरू बन्न चाहन्थे हृदय
हृदय बन्न चाहन्थ्यो आँखा
आँखा बन्न चाहन्थे सपना
सपना बन्न चाहन्थे पखेटा
सडकका नसाहरूमा दौडिन्छन् इलेक्ट्रोन र प्रोटोन
सडकहरू पछारिदिन्छन् सपनालाई दौडमा प्रायः
यी सडकहरूले निल्छन् मान्छेलाई
आकाशभरि दौडिन्छन् सूर्यका सातै घोडाहरू
हलचल गर्दैन सूर्य
बल्दाबल्दै हिँडेको भ्रम उत्पन्न गर्छ
विरोधाभासहरूको अदभुत म्युजियम हो जीवन
जीवित छ जहाँ रोकिएको सूर्य
र संवेदनाशून्य बन्छन् निरन्तर हिँडिरहने पाइलाहरू
फलेका छन् कथाहरू सडकमा
र छरिएका छन् जताततै भाँचिएका रङ्गिन प्वाँखहरू
बलि मागिरहेको सडकका अगाडि लचिलो बन्छ ढाडको हाड
धेरै अघि कुनै असल मान्छेले भनेको थिए-
सूर्यमुखीको रसले निको हुन्छ घाउ
खल्ती छामेँ- हातमा आए चिप्ला गड्यौला र कछुवाहरू
धृष्ट पाइलाहरू घस्रिन्छन् तर पराजित हुन चाहँदैनन् सडकसित
घुम्तीको बुढो वटवृक्ष हिस्टेरियाको सिकार जस्तो लाग्छ
बौलाहा झैँ बोलाइरहन्छ बाटो हिँड्नेहरूलाई
यो चेतावनीको वटवृक्ष हो
यो बोधको बटवृक्ष हो
एक दिन बन्द भयो रक्तमुच्छेल पाइतालाको मस्तिष्कसँगको संवाद
देखिन्छ सबै त्यहाँबाट- यस्तो सुनेको थिएँ
रोकिएको सूर्य वरको रुखबाट छिरेर गर्जिँदै भन्छ-
छ्याङ्ङ भइजाने छ हजारौँ वर्षदेखिको तुवाँलो
पर चौबाटामा देखिन्छ माइकल एन्जेलो
जो टाँगेर आफ्नै काँधमा ‘द लास्ट जजमेन्ट’ हिँड्दै आइरहेछ
तराजु उचाल्नुअघि आँखामा कालो पट्टी बाँध्छ मृत्यु
सबै सत्यहरू निर्मम छन् पशुवध गर्नेहरू जस्तै
कसैको लास उठाउँदैनन् कोही
यहाँसम्म कि अर्थहरू समेत आफै बोक्छन् आफ्नो लास
हिँड्न सकिन्छ, सडक जतिसुकै कच्ची किन नहोस्
दुरुह छ स्वयम्सम्म पुग्ने सडक
अन्तरिक्षलाई भिजाइरहेको सडक
खुम्चिएर आएको छ मेरा पाइतालामुनि
रेखाहरू हत्केला नाघेर निधारसम्मै पुगिसके
र, टाउको पार गरेर बिस्तारै बिस्तारै बढिरहेछन् अन्तरिक्षतिर
खसिरहेको ताराको बिलाइरहेको पुच्छर
मेरा हत्केलाका रेखाहरू नै हुन्
अन्तिम पटक खल्ती छामेँ केही स्वर्णकमल भेटिएका छन्
मुखमा गङ्गाजल र दही राखेर केही बेर सुत्न चाहन्छु म
अहिलेसम्म जे रचियो त्यो सबै प्रतिध्वनि हो
ब्युँझेर निद्राबाट
भन्ने छु केही ध्वनिका बारेमा ।
***
३. खराब समयमा
(बुरे वक़्त में)
बाबुषा कोहली
एक रात बलपूर्वक चिच्याएँ म- चकनाचुर होओस् खराब समय
थाहा पाएँ त्यसै दिन- सिसाका हुन् मेरा घाँटीका नसाहरू
पीडाका सबै मलहम दश मिनेटका स्तब्धताबाहेक केही होइनन्
हात उचालेर छुन सक्छ मान्छे चन्द्रमालाई
मङ्गल ग्रहमा छाम्छ जीवन
अन्तरिक्षमा पौडिरहेका चमत्कारी मेसिनहरू
पत्याउनु कसरी अझै अछुतो छ इन्द्रधनुष
पट्टीहरूले रोक्छन् रक्तश्राव
निधारको गहिरो चुम्बनले सोस्छ पीडा
एउटा कान काटिएको चित्रकारसित थिएन भाषा
यसो भन्न- के चाहिएको हो उसलाई
उसको खल्तीमा मात्रै केही चहकिला रङहरू राखिएका थिए
रङहरूको बुझाइ अझै पनि अधकल्चो छ
खराब समयले सिकाउँछ वास्तविक हाँसोको पाठ
हाँस्नु, निकै कठिन कला हो जीवनको
कसलाई थाहा छ मलाईभन्दा बढी यो-
सुनाउँथे बुद्ध सबैभन्दा रमाइला चुटकिला
खराब समयमा छन्दका गणहरूको माला जप्नु
अपराधभन्दा कम त पक्कै होइन
खराब समयमा हिज्जे मिलाउन खोज्नु एउटा विशेषखालको चलाखी हो
मात्रै एक्स-रे बनिबस्छ मान्छे खराब समयमा
गन्ती गर कति गाँठा छन्, कति भाँचिएका छन् आत्माहरू
मसित छैन कुनै भाषा
यसो भन्नलाई- के चाहिएको छ मलाई
थोरै रङहरू बाँकी छन् जीवनमा
मध्यरातमा निस्कन्छ रगत कानबाट
उडाउँछु चुम्बन हावामा
टिक-टिक-टिकको लय गुन्जिन्छ आकाशमा
भित्तामा हाँसिरहन्छ भ्यान गग
खराब समयमा फुलेका कपाल झरे पनि
सम्हालेर राख्नुपर्छ कुनै ठुलो सम्पत्ति जसरी
आफ्ना छोराछोरीका लागि
***
४. नदी र हाँसको कथा
(नदी और हंस की कथा)
बाबुषा कोहली
दक्षिणी ध्रुवको अभिशप्त कालो हाँस
भौँतारिइरह्यो
एउटा नदीको खोजीमा
जसले पिउन सकोस् उसको कालो रङ
कहिले हेर्थे उसलाई
हरिया मैदानमा उल्लासपूर्वक दौडिरहेका नदीहरू
राजहंसको स्तुतिमा समर्पित
दिनरात सिर्जना गरिरहेका
सेता अनाकार मोतीहरू
सूर्यको श्रापले डढेको
बाँध भत्काएर बग्ने एउटा नदी
धरतीका धाँजाहरू ओढेर सुतेको थियो
कुनै सपना टेकेर हिँडिरहेको
त्यसै बेला ढक्ढक्यायो ढोका कसैले
नदीले खोलिदियो साङ्लो
भौँतारिइरहेको हाँसका लागि
र त्यसै बेला भिज्यो निथ्रुक्क
एक दिन दुर्लभ काला मोतीहरूका बारेमा
संसारले थाहा पायो
***
५. मेरो सहरको निर्लज्ज घाम निर्वस्त्र घुमिरहेछ
(मेरे शहर की निर्लज्ज धूप निर्वस्त्र घूम रही है)
बाबुषा कोहली
कालोबाल बर्सिदे…
ए बुढी ! यस्तो लाग्छ आकाशको ओछ्यानमा सुस्ताउँदै गर्दा तँलाई निद्रा लाग्यो
कपास चुट्न छाडेकी होस् कि आफ्ना कानमा कोचेकी होस् कपास तैँले
हरेक पल सम्झन्छे तँलाई धरती
के तँ सुन्दिनस् उसको करुण रोदन
ओइ सुन् !
आफ्ना थोपाहरूको ओढ्ने चाँडै पठा
मेरोसहरकोनिर्लज्जघामनिर्वस्त्रघुमिरहेछ
पश्चिममा रोकिएको ए हावा !
तैँले आफ्नो हुलाकमा ताला लगाइस् कि क्या हो, पठाउँदैन अब चिठी कसैले
निलो अन्तर्देशीय हवाइपत्र नपढेको एक युग बितिसक्यो
सुन, त्यो बहिरी बुढीको हालचाल त सुनाओ कोही- नदीहरूको मजेत्रो अब च्यातिइसकेको छ
सुन् ए ठेकदार !
ती श्रमिकहरूलाई मान्छे सम्झेर काम लगा
कुनै दिन कुनै भोको मान्छेको श्रापले तँलाई भस्म गर्ने छ
तेरा लागि त पसिनाले नुहाएको एउटा गाली नै पर्याप्त छ
ओइ सुन् !
मरिस् भने मुख छोप्ने कत्रो पनि भेट्ने छैनस्
त्यो बुढी त यसै पनि आरामसित कपास चुटिरहेकी छे ।
***
६. अश्वत्थामा
बाबुषा कोहली
एउटा बनाउँथ्यो चराहरूका लागि गुँड
अर्को सुन्थ्यो गीत चराहरूको
कोही यस्तो पनि थियो- जो सहन्थ्यो घाउ चराहरूको ठुँगाइको
घाउ जसलाई ऊ मलहम जसरी लेपन गर्थ्यो आफैँमा
मलहम जुन बन्थ्यो घाउका पिपहरूबाट
घाउ यस किसिमका जुन कहिल्यै बिसेक हुँदैनन्
प्रेमका पनि अश्वत्थामा हुन्छन् जो कहिल्यै मर्दैनन्
***
७. प्रेम लोखर्के मन ओखर
(प्रेम गिलहरी दिल अखरोट)
बाबुषा कोहली
सपनामा लागेको चोटको उपचार निद्राबाहिर खोज्नु गलत छ
यसो हुनुपर्थ्यो-
एउटा नसा निकालेर आफ्नो हृदयको
बाँधिदिन्थ्यौ तिमी मेरोरक्चमुच्छेल औँलामा
मेरो घाँटीमा अड्किएको पानी निकाल्थ्यौ बाहिर
र राखिदिन्थ्यौ त्यहाँ एक मुठी घाम
भयो यस्तो- जुन पर्वतमा गोडमेल गरे मैले तिम्रो नाम
निस्किए त्यहाँबाट कलकल गर्दै नदीहरू
र मेरो गर्धनमा आएर टाँसियो कागजको एउटा डुङ्गा
समातेर तिम्रो औँला क्षितिजसम्म हिँडेकी थिएँ पैदल
त्यस दिन तिम्रो उचाइ मेरा बाजत्तिकै बढेको थियो
फ्याँकिआएथेँ त्यसै रात नदीमा आफ्नो बहना
ईश्वरको प्रिय सन्तान हौ
बाल्कालदेखि नै आमाले भन्दै आउनुभएको हो मलाई
हुनु त यसो पर्थ्यो-
कबाडीमा भेटिएको त्यो बत्तीलाई घोट्नासाथ धरतीमा
धुँवाको पछाडिबाट प्रकट होओस् कुनै देवदूत
र बनिजाओस् मेरो आदेशको दास
भयो यस्तो- घोट्नासाथ ढुङ्गामा कमजोर शरीर चिच्यायो पीडाले
ठिक त्यसै दिन कानभन्दा पछाडि पलायो एउटा हरियो बेल
कुनै रङ हुन्थ्यो माइग्रेनको भने हरियो नै हुन्थ्यो
कति राम्रो लाग्थ्यो- भित्तामा लेख्न र बिरूवामा पानी हाल्न
हुनु त यसो पर्थ्यो- तिम्रो पिठ्युँमा कोरिने गर्थे बेलबुट्टाका चिह्नहरू सधैँ सधैँ
र सिञ्चन गरिरहन्थ्यो छातीलाई जीवनभर
भयो यस्तो- छैटीको जुनेली रातमा मैले उमारेँ जुठो स्याउ तिम्रो छातीमा
अनि ठोक्किएर तिम्रो पिठ्युँमा फर्किरहे मेरा चित्कारहरू
ती दिनहरूमा जङ्गल पलाँस जसरी डढ्ने गर्थ्यो
म तिम्रा गोडाको बुढीऔँलामा जन्तर बाँध्ने गर्थेँ
एक पटक ओर्लिन देऊ मेरा चित्कारलाई आफ्नो छातीमा
कुनै वटवृक्षको कानमा त्यसै दिन
म कानपछाडिको नसाको असह्य पीडालाई विसर्जन गरिदिने छु
एउटा युग बित्यो
जब डाक्टरले ‘मायोपिया’देखि लिएर इथियोपियासम्मका कुरा गरे
र लगाइदिए चस्मा आँखामा
हुनु त यसो पर्थ्यो- लगाएर त्यो चस्मा
अहिलेसम्म मैले टाढासम्म देख्न सक्नुपर्थ्यो
तर भयो यस्तो, यो चस्मा पनि मेरा लागि कुनै कामको रहेन
पहिले त बाटै देखिन्नथ्यो
र अब ठुला ठुला खाडल र ज्यानमारा घुम्तीहरू पनि देखिँदैनन्
हुनु त यसो पर्थ्यो-
तिमी हुन्थ्यौ वटवृक्षको सघनता
र उफ्रिँदै हिँड्थैँ म तिम्रा हाँगाहरूमा
आफ्ना निर्निमेष आँखाहरूमा अटाउँथेँ सबै हरियाली
लुक्थेँ कहिले पातहरूमा देखिन्थेँ कहिले फेदपछाडि
पिउँथेँ सबै छायाँहरू घुटुघुटु
भयो यस्तो- बिर्सियो एउटा वटवृक्षले शिष्टाचार
आफू वरको रुख हुनुको
मिल्दैन केही छाया, हरियाली, स्थान
चर्को घाममा भौँतारिइरह्यो प्रेम भोकभोकै
गाँस गाँसलाई चपाइरह्यो हृदय ।
***
अनुवादः निमेष निखिल
स्रोतः कविताकोश
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।