चुरोटको ठुटो
माइला दाइले खाएर फालेको सानो
चुरोटको ठुटोबाट
ठूलो ठूलो ठूलो हुँदै
दन्किरहेकोछ जङ्गलभरि आगोका ज्वाला
आकाशमाथि उडिरहेका सेता धुँवाहरुमा
आइरहेका छन् निर्दोष पशुपक्षी र
अमूल्य जडिबुटीहरुको गन्ध
गुन्जिरहेको छ जिउँदै जल्दै गरेको
हरिणको चीत्कार
बिलौना गर्दैछिन् सन्तान गुमाएकी
कोइली चरी
मासिँदै छन् अमूल्य रुखहरु
उजाड हुँदैछन् सुन्दर बस्तीहरु
जल्दैछन् जीवित लासहरु
थपिदैछन् चिहानहरु
पारि बसेर हेरिरहेका छन् माइला दाइ
आफ्नै घरतर्फ बढिरहेको
आगोका मुस्ला
सम्झिए परिवार
सम्झिए धन सम्पत्ति र गाईगोरु
आगो आयो घर जल्यो गाईगोरु जले
खरानी भए सबै सबै
अनि सम्झिए
त्यो
चुरोटको सानो ठुटो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला