हरेक बिहान
साँघुरो बाथरुम भित्रको धारो खोल्दै गर्दा
म अरुणमाथिको तुइन तरिरहेको हुन्छु
म कर्णालीसँग कुरा गरिरहेको हुन्छु
मध्यरात भएपछि बल्ल
थकाई मार्ने विछ्यौनासँग
नजिकिन पाइँदोरहेछ
बालुवाको प्रदेशसँग साटिएको
यातनामय दैनिकीमा
आफूले आफैँलाई टाढा पुर्याएपछि
पहिलेभन्दा धेरै नजिक भएको छ अचेल
आमाले नित्य पूजा गर्ने गरेको तुलसीको मठ
बुवाले भकारोे सोर्ने गरेको गाईगोठ
दिदीले लिपपोत गर्ने गरेको फराकिलो आँगन
हामफाल्दै आएको थिएँ
बत्तीको पुतलीझैँ
वैभवको उजेलोमा लोभिएर
अकासिएको थिएँ
महादेशीय यात्रामा उचालिएको
जहाजसँगै
आँखाभरी पैसा फल्ने रुखको सपनामा
चुर्लुम्म भएर
गाउँको रुखोपाखो जमीनभन्दा प्यारो
हुनसक्दो रहेनछ
पराई देशको समृद्धि
आफूसँगै उधिनिएर आउँदोरहेछ
र भतभती पोल्ने घाउ बन्दोरहेछ परदेशमा
आफू जन्मेको भूगोल ।
विराटनगर ८ मधुमारा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला