मधुसुदन घिमिरे

तिमी उदाउँदा जिन्दगीको यात्रामा
सँगै तिम्रो पछिपछि म पनि हुनेछु छायाँ बनेर
तिम्रो किरणसँग मेरो आकृति खुबै मेल खान्छ
म भन्छु नि तिमीलाई,
हेर त एकपटक, रूखको मुनि बनेको रूखकै फोटोकपी
महसुस गर त
नदीको पानीमा उठेका फोकाहरू सँगैको त्यो दृश्य
एकैपटक हेर न तिम्रो प्रकाशलाई पच्छ्याउँदै
मैले पार गरेको गोरेटो
र नजर लगाऊ ती उकाली-ओरालीहरूलाई
जहाँ तिमीसँगै मैले कटाएको छु अनगिन्ती दिनहरू तिम्रो सारथि बनेर
जब तिमीलाई दुःखका बादलहरूले छपक्कै छोप्छ
म पनि तिमी जत्तिकै दुःखी हुन्छु र धुमिल बन्दै जान्छु
आँसुले बनेका तलाउहरूमाथि
सङ्घर्षरूपी ठूला-ठूला रूखको छेउमा
र, फेरि अस्पष्ट हुँदै जान्छु चोटहरूको बाटोमा
तिम्रो खुसीमा त म झनै यसरी मुस्कुराइदिन्छु कि
केटाकेटीहरू पनि मज्जाले खित्खिताउँछन्
आफ्नै आकृति देखेर र लखेट्छन् दौडिँदै मलाई तिम्रो चम्किलो
प्रकाशमा
कुनै प्रेमिल जोडीहरू यो युगले नबुनेको मायाजाल बुनिदिन्छन्
एकअर्काको अनुहारमा नहेरी एकअर्काको छायाँलाई हेरेर
अनि कुनै भरिया गहिरो थकानलाई भुलाउन बिसाइदिन्छ पिरको भारी
मेरै काँधमा र फेरिदिन्छ जिन्दगीको एउटा लामो सुस्केरा
तिमी क्षितिजपारि अस्ताउने बेला
बटुवाहरूको झुन्ड फटाफट लाग्छ उकालैउकालो
मेरै छातीमा कुल्चिँदै
चराहरू पनि मेरो अस्तित्व पन्छ्याउँदै आफ्नो गुँडभित्र पुग्छन् त्यसबेला
जुन बेला तिमीले बनाएको आकासको बाटो मधुरो बन्दै जान्छ
अनि तिमी आफ्नो अनुहार पहाडको काखमा लुकाउँछौ
र बिदाइको हात हल्लाउँछौ
तर म कत्ति पनि गर्दिनँ गुनासो बिछोडको
न त मेरो जिन्दगीमा पूर्णविराम नै लाग्छ
किनकि, हामीसँगै भेटिन्छौँ र सँगै छुटिन्छौँ
म तिमीभित्र यसरी हराउँछु कि जसरी
यो धरती अन्धकारको घुम्टोभित्र हराउँछ जब तिमी अस्ताएपछि
ओहो ! म त छायाँ पो रहेछु
तिम्रो छायाँ
तिमी घाम म छायाँ।