साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः प्रिय नेता !

उहाँ सानै उमेरदेखि धेरै कडा !
गाउँलेहरुलाई जुधाउन लडाउन सिपालु
कक्षामा प्रायः अन्तिममा बस्ने
नपढे पनि चिट चोर्न माहिर
जागीरको खोजीमा भौँतारिँदै
व्यापारमा सबै गुमाएर बैरागिएका
आफूलाई बदल्न नसकेका
देश नै बदल्न हिँडेका
हजुर उहाँ प्रिय नेता ।
हात्तीछाप चप्पल पड्काउँदै
भुत उठ्ने बेला दुनियाँ निदाएपछि
क्रान्तिको लागि हिँड्ने
दिनभरको परिश्रमबाट थकित गाउँले
उहाँको प्रेमबाट तर्सिदै
मध्यरातमै खाना पकाएर खुवाउने
खै के के बाद हो कुन्नी
स्वस्थानीझैँ वाचन गर्ने
कसैलाई नभन्नू मेरोबारेमा
तर्साएर बिहानको झिसमिसेमा अन्तर्ध्यान हुने
हजुर उहाँ प्रिय नेता ।
खै वर्षौंवर्ष जेलमा थिए रे
आज प्रिय नेताको सवारी छ रे
सबै गाउँलेलाई स्वागतको लागि उर्दी छ
सय किलोको माला किन होला ?
किन यत्रो स्वागत कुन्नी ?
के गरे उनले ?
म सोझोले के बुझ्नु र ?
मेरो दुःख, मेरो पीडा यही छ
गाउँ उस्तै छ
अन्धकार अनकन्टार बन्जर
जे होस्, जसरी होस्
उहाँ भने सुकिलोमुकिलो हुनु भएछ
हजुर उहाँ प्रिय नेता !
अहिले उहाँ राजनीतिका गुरु !
के गर्न सक्नु हुन्न र ?
उहाँ ज्ञानका भण्डारी
विज्ञानका अद्भुत पारखी
यो जगत, चर, अचर
नीतिदेखी नैतिकतासम्म पोख्त
उनका भाषणले देश हल्लाउँछ
महान् क्रान्तिकारी
हजुर उहाँ प्रिय नेता !
उहाँ आलिशान झुपडीमा बस्नु हुन्छ
सानो पजेरोमा गुढ्नु हुन्छ
उहाँलाई काँडेतारको बारले पुग्दैन
प्रहरीको घेरामा सुत्नु हुन्छ
उहाँको नाममा केही छैन
न त सुपरमार्केटमा लगानी छ
न त हाइड्रोमा
न त अन्य अनगिन्ती व्यापारमा
किनकि
उहाँ सर्वहाराको नेता
देश र जनताको सम्वृद्धिको लागि
कमिसन जम्मा गर्दै हुनुुहुन्छ
हजुर त्यसैले त उहाँ प्रिय नेता ।
भक्तपुर, कटुन्जे
प्रतिक्रिया
Loading...