हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

मुखमा मिठो मुस्कान अनि ओठमा हाँसो,
जस्तै दुनियाँमा खुसी छर्न हालेको पासो ।

दुखको, पीडाको, पीरको छैन मुहारमा चिन्ह,
तृप्त भएको ऊ देखिन्छ  धेरै संसारमा भिन्न।

आकर्षित पोषाकले कति मज्जाले सजिएको,
वातावरण पनि मनोरम मुहारले लजिएको ।

मुहारको तेजले सबैतिर आकर्षणको केन्द्र हुने,
यो अप्रतीम दृष्यमा मन कसैको पनि छुने ।

वाह ! वाह ! भनी सबैले ताली पिटेका,
उसलाई हेर्न जसले पनि नेत्र मिचेका ।

यो ढोङ्गी व्यवहार मात्र रहेछ तस्बिर लिन,
होइन अरूलाई खुसी अनि माया दिन ।

खुसीको साथमा अथाह पीडा पनि हुने गर्छ,
पीर लुकाए पलको लागि हाँसो दिने गर्छ।

तस्बिरको मुस्कानमा सुखको आकल नगरे हुन्छ,
दुखको तस्बिरमा पनि सुखको आकलन नगरे हुन्छ।

यो त मात्र तस्बिर हो हाल मनैमा हुन्छ,
सुख-दुखको आवाज पनि उसले नै सुन्छ ।