रवीन्द्रनाथ टैगोर

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड है !
एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!!
हो, तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!!

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने
तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!!

तिमीसँग कोही पनि बोल्दैन भने
हो, अभागी ! कोही बोल्दैन भने
अर्कैतिर फर्केर सबैले तर्साउँछन् मात्र भने
तिमी निडर ! तिमी स्वतन्त्र ! एक्लै आफ्नै कुरा गर
हो, तिमी स्वतन्त्र एक्लै कुरा गर !

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है !

सब फर्किए, हो सबै फर्किए भने
हो, अभागी ! सब फर्किए भने
निष्पट्ट रातमा चूक घोप्टिँदा पनि
हो, कसैले नियाल्दैन भने
काँडा र पत्थरले खुट्टा छर्छरी पार्दै एक्लै हिँड है !

तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है !

जूनकीरीले पनि साथ दिँदैन
हो, अलिकति पनि आश दिँदैन भने
बरु आँधी हुरीले फरिको लतार्छ भने
बाल आफ्नै मनको ज्योति, एक्लै हिँड है !

कविताका अनुवादक केदार वाशिष्ठ हुन् ।

(रवीन्द्रनाथ ठाकुर (टेगोर) महान् बङ्गाली कवि र सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् । गीताञ्जलि काव्यका लागि उनलाइ नोबेल पुरस्कार दिइएको थियो । ‘एक्ला चलो रे’ उनको प्रसिद्ध गीत हो । विपन्न वर्गको पीडाबोध गराउने अत्यन्त मार्मिक यो गीत धेरै भाषामा अनुवाद भएको छ । नेपाली भाषामा पनि भएका होलान् तर ती नखोजी आफैँले भावानुवाद गर्न मन लाग्यो र यसलाई यहाँहरु समक्ष प्रस्तुत गरेको हुँ ।

अनुवादक)