अन्तरीको

श्रीमानले मद्यपान गर्न छोडेको छ।

छोरो पनि

नयाँ स्कूल जान थालेको छ।

उसलाई पनि चियाबारीको कान्लामा

प्राण नभएको मूर्तिजस्तो भएर बस्न परेको छैन।

हिजआज उसलाई

पत्ती टिपेको पनि सपना टिपेको जस्तो लाग्छ

अनि मात्रै हतार भइरहन्छ।

कोहीबेला उसका सहकर्मीहरू काममा आउँदैनन्

तर ऊ भने काममा नगएको कुनै दिन छैन।

टन्टलापुर घाम होस् या पानीझरी होस्

उसले चियाबारीमा काम नगरेको कुनै दिन छैन।

 

ईगम खालिङ (दार्जीलिङ)

त्यसरी

चियापत्ती टिप्दा

हात-खुट्टामा जुका लागेको,

पानीले गम्बुटभित्रै खुट्टाहरू पाछिएको,

ज्वरो आएको र भुडी दुखेको पत्तो हुँदैन।

तर उसलाई सुरुदेखि नै थाहा छ कि उसले टिपेका

सपनाहरू कहिल्यै पूरा हुँदैनन् भनेर।

कारण उसले बगाएका पसिनाहरू

अनि टोकरीभरि टिपेका सपनाहरू अरूकै निम्ति हुन्।

ऊ त अरूका सपनाहरू साकार बनाउने एउटा यन्त्र मात्र हो।

उत्पादन एकाइको एउटा मानव मसिन मात्र हो।

 

जे होस्,

हिजआज उसलाई

झोल-झाल अनि खस्रो-मस्रो सबै रुच्छ।

उसका दु:ख-सुख, पीर-मर्का अनि सपना-जपना सबै

आफ्नो छोरोमा हुर्किरहेको देख्न थालेकी छे।

तर अचेल उसलाई महँगाइ, अपुग, आर्थिक असमानता

अनि यन्त्रणाहरूले सताउन थालेका छन्।

 

एकदिन

उसको छोरोले आफ्नो बाबुलाई सोधेको थियो,

“बाबा, हाम्रो बज्यूले चियापत्ती टिप्दाटिप्दै बेथा लागेर

तपाईँलाई चौतरीमा नै जन्माएकी थिइन् हरे,

के त्यो कुरो सत्य हो?

सत्य हो भने,

त्यसरी जन्माउँदा के तपाईँलाई चोट लागेन रहेछ?

के बज्यूलाई पीडा भएन रहेछ?

बज्यू जिउँदो भएकी भए म वहाँलाई

पीडा किन भएन भन्ने कुरा

अवश्य सोध्ने थिएँ।”

छोरोको

त्यो इच्छा सम्झेर ल्याउँदा

अन्तरीको मनमा एउटा अज्ञात डर पलाएर आउँछ

अनि छोरालाई सम्झाउँछु भनेर सोच्छ तर बिर्सिहाल्छ।

उसलाई लाग्छ कि

एउटी नारीको व्यथा एउटी नारीले मात्र बुझ्न सक्छ

अनि एउटा गरिबको पीडा एउटा गरीबले मात्र।

जति नाना थरीका कुराहरू सम्झिल्याउँछे

उति छिटोछिटो पत्ती टिपी पठ्याउँछे।

त्यसरी पत्ती टिप्दा

उसलाई चियाका गाँजहरूबाट निस्किएका आवाजहरूले

आफ्नै व्यथाका कथाहरू पुनरावृत्ति गरिरहेको जस्तो पनि लाग्छ।

 

अन्तरीलाई

मनको बह कसरी रोक्ने

भन्ने ज्ञान अलिकति पनि छैन।

बरु कुनै एउटा चियाको गाँज टाइप राइटर भइदिएको भए

उसले एउटा अन्तिम पूर्णविराम ठोकेर त्यहाँबाट निस्कने थिई होली!

तर त्यो पनि उसले गर्न सक्दैन

कारण उसले आफ्नो बाल्यकालमा दुई-चार अक्षरहरू सिक्ने मौका पाएन।

उसले पढ्ने पाठहरू त भान्साघरका काम र घाँस-दाउराहरू भइदिए।

अन्तरीले

पढ्न नपाए तापनि

स्कूल, महाविद्मालय र विश्वविशद्मालयहरू जान नपाए तापनि

उसले मानिसको प्रवृतिलाई बुझेकी छे।

गरीबहरूका जीवनका पटकथाहरू लेख्नेहरूलाई चिनेकी छे

तरै पनि अन्तरी

आजकल मात्रै चियापत्ती टिपिरहन्छे।

आफूभित्र उम्लिरहेको ज्वालालामुखीलाई

एउटा गाँजदेखि अर्को गाँज अनि एउटा कान्लादेखि अर्को कान्ला

फूँ फूँ गरेर सेलाउँदै चुपचाप मात्र चियापत्ती टिपिरहन्छे।