यशोदा गैरे

हर दिन हजारौँ मुत्युवाहक बनी
घुमिरहन्छौ कोरोना अझै कति संसारभरि ?
आकाशले पनि सन्ताप गरी बर्षा गराइरहेछ ।
चराहरु चिरबिर कुहुकुहु गरी नाच्नुपर्ने, उडनुपर्ने
केही जोडी मात्र डुलिरहेका छन् ।
फूलका कोपिलाहरु फुल्न ठिक्क परेका पनि
खै के पर्खिरहेछ किन पर्खिरहेछ ?
आफ्नो सुभाष छर्न अझै ।
हरदिन शितल हावा चलिरहने मेरो घरबाहिर
आजभोलि मन्द भएको छ ।

अहँ यसरी चल्दैन रीत
रोकिँदैन हावा, छेकिँदैन सूर्य ।
केही दिन मात्र सताएका हौ तिमीले
सायद हामीलाई मानव बनाउन, सभ्यता सिकाउन
जीवन र मृत्युको महत्त्व बुझाउन,
खुशी के हो ? घर के हो सम्झाउन
र संसारको अस्तित्व बुझाउन पो हो कि ?
म मात्र होइन हामी महसुस गरी
पशुपक्षी, वनजङ्गलको माया बसाई दिन पो हो कि ?

दिनहुँ यस्तो आतंक अब बन्द गर
स्वतन्त्र भई जाऊ तिमी आफ्नै स्थानमा
त्राहित्राहि बनाएर किन रमाइरहेछौ ?
आखिर जीवन हाम्रो पनि हो तिम्रो पनि
सायद स्वास फेर्न नसके तिम्रो पनि त अन्त्य हुन्छ ।

जसलाई तिमीले रातदिन पलपल सताइरहेछौ ,
यही मानवले नै तिम्रो अन्त्य गर्नेछन्
विभिन्न रासायनिक औषधिको निर्माण
गरिरहेको सुनेकै छौ होला तिमीले पनि ।

त्यसपछि,
तिमीले सताएजस्तै हामीले पनि सताउने छौ
हामीलाई रुवाएजस्तै तिमीलाई पनि रुवाउने छौ
र आजित भई मर्नु सिवाय विकल्प हुँदैन तिम्रो ।
समयले सिकाइरहेछ सबको दिन आउँछ भनी
आज तिम्रो, भोलि हाम्रो आउँछ पक्कै पनि
खुशी भई, स्वस्थ भई बाँच्छौँ हामी पनि ।

तर,
तिमीले सिकाएको एउटा पाठ याद रहन्छ सधैँ
पैसा मात्र रहेनछ जिन्दगी
साथ, सहयोग, स्वच्छ हावा
घरपरिवार, खुशी रहेछ सबथोक ।
सूक्ष्म छौ तिमी तर निकै शक्तिशाली रहेछौ
धनी-गरिब जात-भात धर्म केही नहेरी
बिस्तारै बिस्तारै खाइरहेछौ
अझै अघाएका छैनौ लाखौँ पुर्याएर पनि ?
हो कति शक्तिशाली रहेछौ !
भयो बुझ्यौँ हामीले, झुक्यौँ तिम्रोसामु
माफ गर अब र बाँच्न देऊ हामीलाई ।

सन्त्रासमा बसी जीवनमूल्य थाहा पाइसक्यौँ
एक छाक खानाको महत्त्व बुझिसक्यौँ ।
थाहा छ तिमीलाई देशमा आर्थिक संकट पर्दैछ
खाद्यान्नको अभाव हुँदैछ
बजारमा सागसब्जी सकिँदैछ
कतिपय ठाउँमा त भोकमरीले सताएको छ
कतिले एक छाक मात्र खाएर बसेका छन्
र आँगनमा सुतेका छन् ।
भयो, पुग्यो अब थाकिसक्यौँ
जाऊ फर्की जाऊ, कहिले नआउने गरी
जाऊ फर्की जाऊ, कहिले नआउने गरी ।

तिमीले सिकाएको एउटा पाठ याद रहन्छ सधैँ
पैसा मात्र रहेनछ जिन्दगी
साथ, सहयोग, स्वच्छ हावा
घरपरिवार, खुशी रहेछ सबथोक ।