सञ्जय शान्ति सुबेदी

बिकेका राष्ट्रवादीहरु,
देशैभरि सलबलाएका छन्
कोही गरिबको मसिहा बन्छन्,
कोही नागरिक अगुवा,
कोही सञ्चारगृहको मालिक,
कोही दलाली व्यापारी
त कोही कालो बजारी
कोही बन्छन प्राध्यापक
त कोही बन्छन् प्राज्ञ,
कोहीलाई बनाइन्छ विज्ञ ।

कोही जनजातिका नेता,
कोही मनमानीका नेता,
कोही धर्मका नेता,
कोही युद्धका नेता,
के गर्नु भनेर गरिबको नेता
ऊ स्वतन्त्रताको सेनानी,
दलाली गर्छ, भ्रष्ट छ
जताको खान्छन् नुन

सोझो गर्छन् त्यता
विदेशीले सीमा मिच्दा
वा फिरङ्गीको प्रिय बनी
बिकेको छ जो सबैभन्दा
उही कहलिन्छ राजनेता ।

बिकेका मानिस, मानिस रहन्न
उसका अनेक पदावली हुन्छन्
राजदूत, सल्लाहकार
कुलपति, रजिस्ट्रार
सञ्चारकर्मी वा पत्रकार
वकिल, न्यायाधीश, बुद्धिजीवी
अभियन्ता त कोही कलाकार ।

“रातो किताब” पढाउलान्
“शुभ सन्देश” सुनाउलान्
टाइ-सुट भिराउलान्
मानव अधिकार र पहिचानको नाममा
वाक्स्वतन्त्रता र गरिबी उन्मूलन
वा पि.आर., ग्रीनकार्ड र डिभी भन्दै
अध्ययन, अनुसन्धान र अवसर
या अनेक नाममा नथ्याएर
लतारिँदैछन् राष्ट्रवादीहरु
त्यसैले बढ्दैछ सङ्ख्या
जताततै छन् बिकेका राष्ट्रवादीहरु ।

हो जताततै छन् राष्ट्रवादीहरु
कोही बिदेसिएका पनि छन्
“जय हिन्द” भन्दै बुट बजार्ने
वा अनुदानमा पढ्दै मुख बटार्ने
पुल्चोक र महाराजगञ्जमा पढेका
बिदेशतिर छन् कति-कति
देशका लागि शून्य बराबर
शोखिन युद्ध लडिरहेछन्
ती महान् ‘किबोर्ड वारियर’ ।

हो, ऊ विदेसिएको राष्ट्रवादी
उसको कहर पनि भिन्न छ
आफ्नो मैमत्ताको दोकान थाप्न
नवीन विचारझैँ लाग्ने भ्रमहरु
आफ्ना लेखोट, पुस्तक वा
फेसबुक र ट्वीटरका भित्तामा
रङ्ग्याउँछ भरपुर
पुस्ट्याउन खोज्छ
राष्ट्रवादी मुकुण्डो ।
नेपालले जन्माएको
पढाएको, हुर्काएको
कर्तव्यविमूढ विद्वान युवा
पीआरधारी स्वेच्छाचारी
हो, उही त्यही त हो
ऊ बिदेसिएको राष्ट्रवादी ।

सबैलाई बिकिन हुन्न रहर
जो सक्दछ बाँच्न
ऊ बिकिदिन्छ,
जो बाँच्न सक्दैन,
सक्दैन ऊ केही गर्न
जो बिक्दछ, ऊ ठाँटिन्छ,
जो सक्दैन, ऊ जाकिन्छ,
बिकेर जमेको राष्ट्रवादी फर्किन्न
निधि जब सक्षम हुन्छ
बरु ऊ फर्किन्छ
लड्न बिकिएका राष्ट्रवादीसँग,
फर्किन्छ आफ्नै देश,
लड्न बिकिएका राष्ट्रवादीसँग ।

वैशाख ७, २०७७ (अक्ल्याण्ड)

आफ्नो मैमत्ताको दोकान थाप्न
नवीन विचारझैँ लाग्ने भ्रमहरु
आफ्ना लेखोट, पुस्तक वा
फेसबुक र ट्वीटरका भित्तामा
रङ्ग्याउँछ भरपुर