निर्मला कोइराला

नलिनी !
म तिमीलाई प्रेम गर्छु
तिमीलाई
कञ्चनजङ्घा जस्तै निष्कपट प्रेम गर्छु ।

प्रिय नलिनी !
तिम्रो शालिनताभित्र पस्न डराएको म
तिम्रो व्यक्तित्वदेखि खुम्चिएर भाग्न खोजेको म
तिमीले
कत्ति सजिलै मेरा संकुचनहरूलाई,
हृदयमा उम्रिएका अप्ठ्यारा काँडाहरूलाई,
मत्थर पारेर नामेट गरायौ,
विचारको युध्दमा जित्न सिकायौ,
जीवनको गति र गतिशीलता सिकायौ,
मलाई साँच्चै ‘म’ हुन सिकायौ,
तिमीसित म ऋणी छु
साँच्चै ऋणी छु नलिनी ।

तिमीलाई भेट्नुअघि
मैले नदीमा कुनै वहाव देखिनँ,
चराको मधुरतम् चिर्विराहट सुनिनँ,
नीलो आकाश र स्वच्छ धरती देखिनँ,
बच्चाहरूको तोतेमिश्रित आवाज सुनिनँ,
नढाँटी भन्छु नलिनी !
मैले मेरो जीवनलाई
‘जीवन’ भनेर महसुस गर्नै सकिनँ ।

तिमी शङ्का नगर नलिनी,
मैले तिमीलाई गर्ने प्रेम
पहाडी मूलबाट झरेको
छङ्छङाउँदो झरनाजस्तै हुनेछ,
अग्लो डाँडाको सल्लाघारीमा सुसाएको
मन्द बतासजस्तै हुनेछ,
मन्दिर, मस्जिद, चैत्य र गुम्बाभन्दा पनि
अलौकिक र दिव्य हुनेछ
जहाँ
तिमी र म
आफैँलाई बिर्सिएर
कल्पनातीत स्वर्गीय आनन्दमा समाहित भइरहेका हुनेछौँ ।
तिम्रो
शालिग्राम सिञ्चित कालीगण्डकीजस्तै
पवित्र प्रेमको गहिराईमा
अर्को एउटा स्वर्गको रचना हुनेछ
जहाँ तारा र जूनसमेत
लुकामारी खेल्न
तँछाडमछाड गर्दै आउनेछन्,
जहाँ स्वर्गका परीहरूले
अचम्भित भएर हार मान्दै
लामो-लामो निःश्वास छोड्नेछन् ।

मेरी प्रिया !
त्यो देवलोक, दैत्यलोक वा परीलोक केही होइन,
त्यो स्वर्ग, मर्त्य र पाताल पनि होइन
जहाँ तिम्रो दिव्यतासित
जहाँ तिम्रो पवित्रतासित
काम, क्रोध, लोभ र मोहको ।
कुनै साइनो जोड्ने छैन म ।
बस्, त्यहाँ हुनेछ
जीवनका बेअर्थी धूनहरूबाट माथि उठेर
परमानन्दमा उत्सर्जित
सच्चिदानन्द भित्रको एउटा सिङ्गो ब्रम्हाण्ड ।

(नोबेल पुरस्कार विजेता प्रख्यात भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोर र उनकी मानस-प्रेमिका नलिनी (अन्ना) मा समर्पित कविता ।)

तिम्रो
शालिग्राम सिञ्चित कालीगण्डकीजस्तै
पवित्र प्रेमको गहिराईमा
अर्को एउटा स्वर्गको रचना हुनेछ
जहाँ तारा र जूनसमेत
लुकामारी खेल्न
तँछाडमछाड गर्दै आउनेछन्,
जहाँ स्वर्गका परीहरूले
अचम्भित भएर हार मान्दै
लामो-लामो निःश्वास छोड्नेछन् ।