एनबी घिमिरे

इतिहासको अन्धकारमय पृष्ठहरू च्यात्दै
एक दिन उनीहरू कर्कसतापूर्ण स्वरमा चिच्याए
हामी तिम्रो रैती हुन मान्दैनौं
पछाडिबाट आवाज थपियो – मान्दैनौं मान्दैनौं

लहलह धान पाक्ने आफ्नै खेतबाट वञ्चित
भोका पेटहरू, शोषित निधारहरू
एकदिन भिरबाट कालो भारी पल्टाउँदै गर्जिए
हामी हाम्रो थाप्लोमा तिम्रो शोषणको नाम्लो थाप्न मान्दैनौं
पछाडिबाट आवाज थपियो – मान्दैनौं मान्दैनौं

झार्लाङ्गी तर्न काजीको बारीमा जोत्तिइरहेका प्रताडित हातहरू
एक दिन मुठ्ठी कसेर उठ्यो र भन्यो
हामी तिम्रो दरबारको हुकुम मान्दैनौं
पछाडिबाट आवाज थपियो – मान्दैनौं मान्दैनौं

यसरी इतिहासमा
लाखौं थोपा पसिना र रगतहरूको बलिदानपछि
हजारौं सपनाहरूको सङ्घर्ष र हत्यापछि
एक दिन हाम्रो यो जिब्रोले स्वतन्त्रता पायो।

यही स्वतन्त्र चेतनाका जिब्रोहरूसँग
किन हो किन
आज गान्तोकका ठालूहरू तर्सिरहेछन्।

स्वतन्त्र स्वाभिमानी स्वरहरूमाथि ढक्कनी लगाउन प्रयत्नशील
गान्तोके ठालुहरू
ढुक्कसँग बस्न खोजिरहेछन्
आत्मपराजित गान्तोक आज एमजी मार्गमा
दासत्वको घाम तापिरहेको छ
गान्धीको मुर्तिले नतमस्तक भएर यो रमिता हेरिरहेको छ।

जीवन थिङका घोडाका टापहरू दासत्वको साङ्लो तोडेर
स्वतन्त्र दौडको तयारी गर्दैछन् र भन्दैछन् –
अब हामी हिप्पोपोटामस बन्न चाहँदैनौं
पछाडिबाट आवाज थपिरहेछ एउटा सानो भीड
– चाहँदैनौं चाहँदैनौं

हामी फेरि तिम्रो रैती बन्न मान्दैनौं
हामी फेरि कालोभारीको नाम्लो मान्दैनौं
हामी फेरि दरबारको हुकुम मान्दैनौं

जिब्रो काटिएपछि निस्किएको
ताजा अनि रातो रगतका अक्षरहरूले
आज सडक, भित्ता र गल्लीहरूमा सुनखरी र लाली गुराँसहरू लेखिरहेछन् –
हामीले दिएको तिम्रो कुर्सीलाई राजगद्दी हुन दिँदैनौं
हामीले बनाएको त्यो सदनलाई दरबार बन्न दिँदैनौँ।

तर किन हो
आज पछाडिबाट आवाज थपिएन।

सत्ताको अगाडि समर्पित नभएर
केही कञ्चनजंघा जत्रै अट्टेरी चेतनाका हातहरू बढिरहेछन्
सुनिश्चित गर्न अभिव्यक्ति अघि र अभिव्यक्ति पछिको स्वतन्त्रतालाई।

अहिले काफरे सत्ताले उनीहरूलाई देशद्रोही घोषणा गरिदिएको छ।

नाम्ची,
दक्षिण सिक्किम