रहरहरु
तस्बिरहरु
सम्झनाहरु
लाग्छ,
उडानका पंख हुन्
बिना रङ
बिना रहर
कोलाहलबीच
सुमधुर धूनजस्तै
सुन्दर इन्द्रेणी
यी रङहरूले झल्काएका छन्
गाढा फिक्का पोतेका
धुँदा नि नजावोस् झैं
आखिर,
फरक रङ त के भो र !
त्यसले दिने सुन्दरता त उस्तै
शब्द व्याख्याको के अर्थ !
आऊ, तिमी पनि एकचोटी
हत्केलाहरू पोतेर हेर
अनि थाहा पाउने छौ
रङ्गको करिश्मा !
रहरको चमक !
अनि,
सौन्दर्यको आभाष !

रस्मिला कवाङ ‘रश्मि’

रङका रूपहरू अनेक होलान्
अनेक अनेक नजरहरु
तर भावहरु त एक हुन्
आखिर रङ नै त सूचक हैन
ए , फगत एक रङमा रुमल्लिएकाहरु
बाहिर त आएर हेर
सप्तरंगी इन्द्रेणी टल्केको
के, त्यहाँ विभेदको रङ छ र ?
उँचनीच, अभावको अर्थ छ र ?

समाजका वर्ग भनिनेहरु
समानताको आवाज फुक्नेहरु
बहु रूपी रङ्गहरु
कुरीति र कुसंस्कारहरु बोक्नेहरु
एकछिन त सोची हेर !
फरक रङ, फरक विचारका
सत्यहरुले
आक्रोशहरुले
अनि
सुन्दरताहरुले
विशाल हृदयमा
के फरक पर्दोरहेछ !

रङ त्यो फरक किन नहोस् !
चाहे गाढा होस् या फिक्का
अस्तित्वको क्यानभास त उही नै
र त,
रङको रंगीनपन
दिग्भ्रमित छैनन्
जसरी बिहानीको रङ
गोधुलीको रङ प्रकट हुन्छ
के एउटा नै गति छ र ?

त्यसैले, आऊ
रंगीन यो संसारमा
रङहरुको सम्मान गरौँ
पृथकतामा पुलकित बनौं
रङ्गमा के छैन ?
अनेक रङ नहुँदो हो त !
जीवन कहाँ हुन्छ ?
जीवन्तता कहाँ भेटिन्छ र !
फरक त्यहीं छ
हेर्ने आँखामा
बुझ्ने मनमा
फराकिलो सोचमा

त्यसैले ,आऊ
मानवताको रङमा
मायाको रङमा
अँधेरी र उजेलीको रङमा
अनुपम सृष्टिमा
सपनाको रङ कोर्दै जाउँ
हरेक ओठमा
मुस्कानको रङ थप्दै
रहरको तरेलीमा
रंगीन फूलहरु फक्राउँदै
जीवनको बगैँचाहरुमा ।