“के भो?”
(खोइ के भो? के भो? आमा,
मेरो ज्यान बाँचेकै छ भनेर खुशी भएकी आमालाई
यै ज्यानले पैसो पानी बनाएर
घर खेत जोडौँ सोचेथेँ
भाग्य ले कस्तो कस्तो देखायो आमा, खोइ के बोलौं ।)

“किन नबोलेको?”
(बोल्नलाई त कति छ कति आमा
मेरो चालिस वर्ष
चौध हजार छ सय दिनहरु, कसरी बिते
मसँग सुनाउने शब्दहरु छैनन्
म शून्य भएको छु, आमा शून्य
पौरखले सपना जित्न गएको म
परिबन्धमा परी झ्यालखाना पुगेँ आमा,
आफ्नो आमाको काखभन्दा परको दुनियाँ कति निस्ठुरी छ
म सम्झन चाहन्नँ
त्यो झ्यालखानाको डरलाग्दा दिनहरु

प्रज्ञा पनेरू

र रोइ बितेका रातहरुले तिमीले सिकाएको तोते बोलि,
खित्का हाँसो सबै डढायो आमा
मलाई समय देऊ म सबै सम्झाउँछु ।)

“पहिला लुते थियो अहिले त मोटएछ, फोक्से मासु लागेछ ।”
(आमा तिमीलाई छोरो भेट भएको खुशी मा ४० वर्षको भेउ छैन
मेरो २० बर्से जोवन ती काल कोठरीमा कैद हुँदा
मेरो विवेकशून्य भए पनि श्वास आमा सम्झेर अडेको कुरा तिमीलाई के थाहा ?
प्रत्येक गाँस मैले तिमीले मलाई ख्वाइदिएको गाँस सम्झेर निलेकोछु आमा
र पो तिम्रो दुर्गाको प्रसादको ज्यानै भए नि फर्केर आयो
तिमीलाई खुशी देखेर म खुशी छु
नबोले पनि म ढुक्क छु ।)

“देशमा जाने भन्थ्यो । बर्खा आइसक्यो, जग्गा केइ नाइ, पैसा छैन भन्थ्यो ।”

(देश होइन आमा परदेश गएको थियो तिम्रो छोरो
र त फर्कन यत्रो वर्ष लाग्यो
पैसा कमाउन, जग्गा जोड्न गएको छोरो हेर त आफैँ टुटेर आयो
अहिले थाहा भयो
जग्गा जोड्नु भन्दा अफैँलाई टुट्न नदिनु ठूलो कुरो रैछ आमा
मैले तिम्रो घर्-खेत्, मेला-पातको काम धन्दामा फेरि मलाई जोडिदिने काम थपिदिएको छु
तिमी झर्को त मन्दैनौ नि, है आमा ।)

“मिठाई त खानु परी हल्यो नि ।”
(खाऊ आमा खाऊ,
तिम्रो छोरो फर्केर आएको खुशीमा खाऊ
मलाई अलिक दिन्,
“म आमा छेउ आएको सपना हैन बिपना नै हो” भनेर यकिन गर्न देऊ
म तिम्रै वरपर बसेर तिमीलाई सघाउने छु
सके पाखुरा खियाएर तिमीलाई खान मन लगेको र लाउन मन लगेको किनिदिनेछु
तिमी साँच्चै मायाको धनी छौ आमा
तिम्रो नाम हजुरबाउले जानेरै राखेका रहेछन्
मलाई सञ्चो हुन अलिक समय देऊ आमा
म तिमीलाई सबै बेलिबिस्तार लगाउनेछु
अनि आमा छोरा सँगै रोऔंला
अहिले त मेरो आँसु हाँसो सबै रित्तिसकेको छ आमा
तिमी नाअतिऊ है आमा
छोरो बोलेन भनेर पिर नगर
मा छिट्टै तिमीलाई सबै कुरा भन्नेछु ।)

 

(पत्रिकामा छापिएको दुर्गाप्रसाद र धनमायाको भेटघाटमा आधारित।)