मान्छेको चोलामा जन्मिएको मलाई
जन्मिने बित्तिक्कै कुजातको झोलामा
बन्द गरियो , मनुष्यको जामा उतारियो
र नाङ्गो पारियो ।
थुक्नेले थुके !
मुत्नेले मुते !
कुल्चिनेले कुल्चे !
घोँच्नेले घोँचे !
मनपरी गरे !
रमिता हेर्ने पात्र बन्यो संविधान पनि
मलाई जसरी नै ती दफा उपदफाहरूलाई
साँङ्लोमा बाँधियो
र मनुस्मृतिका श्लोकहरूलाई
हरेक बिहान
हरेक साँझ
बजाइयो रेडियो नेपालहरूमा ।
रहरै रहरका पाउदानहरूमा
संघर्षका किलाहरू ठोकेर
बनाएँको उचो सोपान चढ्दै
पाइथागोरसको साध्य
ग्रिसको एथेन्स
प्लेटोको दर्शन
नसरिनको हृदय
फ्राइडको मस्तिष्क
हिटलरको साम्राज्य
माक्सको आइडियोलोजी
कौटिल्यको राजनीति
न्यूटनको नियम
र पिकासोका चित्रकलाबाट चोरेर
मैले जीवनका हरेक रंगहरूलाई
यो निधारसम्म ल्याएँ ;
रातो , सेतो , हरियो , निलो , गुलाफी , पहेँलो …
अँ ह ! कोही अडिएनन् ।
सल्फ्युरिक अम्ल भन्दा पनि कडा
सुनपानी वर्षाइयो मेरो निधारमा
भएका भाग्यरेखाहरू पनि मेटिएँ
कुरुपताले एकोहोरो चुम्बन गर्यो
म त झन् अभागी भए !
ध.उप.म.पा १३ राजपुर, कैलाली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला