लक्ष्मण समी

म पहिलोपल्ट रोएँ,
जब आमाको छिद्रबाट
यश भिमकाय धर्तीमा,
अञ्जान मनुष्य यात्री भएर,
संघर्षको कथा सँगै।

म एक्लै रोएँ,
कुनामा लुकेर रोएँ,
जब मलाई स्त्री भयो,
जीवन र जवानिको
रसले विधिवत उद्घाटन भयो।

म अज्ञानी हुदै रोएँ,
जब तिमीले पहिलोपटक
मेरा हातमा राता कोपिला
थमाएर प्रस्ताव गर्यौ,
स्विकारु वा अस्वीकार गरु भनेर।

म फेरि रोएँ,
जब तिमी मेरो दैलोमा
टुप्लुक्क आइपुग्यौ,
बा सँग मेरो हात माग्न,
मानु वा नमानु भनेर।

म झन रोएँ,
जब डोलिमा अन्माइएँ,
बुढा बा को चाउरि परेको
निन्याउरो अनुहार मलिन भयो
र आमाको हिकहिक सुने।

म अझै बेस्सरी रोएँ,
जब हात माथि हातले
दबाएर सारा शरीर थिचेर,
तिमी चरम आनन्दमा लिन थियौ
सुहागरातको रापिलो बाढीमा।

म चिच्याएँ,
जब तिम्रो नामको नासोलाई
सहाराको रुप दिएँ,
च्यात्तिएको योनिबाट
असह्य पीडामा खुसि साँट्दै।

म ठुलो स्वरमा कराएँ,
जब तिमीले करणी गर्यौ,
जोई बनायौ,
मलाई निरन्तर पीडाले
सतायौ बुढ्यौलीमा पनि।

म बेहोस हुदै रोएँ,
जब बन्धन तोडियो,
एक्लै बनाएर सुखमा गयौ,
झुट बोलेका रहेछौ,
सेताम्मे बन्यो रङ्गिन सपना।

र,
म फेरि रुदैछु,
कुन दिन टुहुरा हुनेछन्,
था छैन एक्लिनेछन,
हाम्रा कलिला सम्झेर।

———- भुरिगाउँ बर्दिया——–