लोलाएका लोचनले
क्षितिजतिर नजर लगाएका थिए,
एकोहोरो भएका थिए,
कोही अपरिचित जस्तै,
सयौंको, हजारौंको भिडले,
तिमीलाई हेरिरहँदा पनि
कसैसँग नजर जुधाइनौ।
मौन, शालिन र भद्र भएर,
चिसो र आलो गोबरमाटोले,
लिपपोत गरेको भुइँमा,
विशाल नागिनझैँ लम्पसार थियौ।
धड्कनलाई लत्याएकी थियौ,
सासलाइ आराम दिएकी थियौ
नशाको दैनिक थकान मेटाएर,
मगजलाई पुर्णविराम लगाइदियौ
असत्य फगत जगत छोडेर
शाश्वत सत्यमा डुबिछौ
कलिलो उमेरमै,
जवानीले रंग भरिनै लाग्दा,
जिन्दगीको वास्तविक स्वाद नचाख्दै,
क्रुर गन्तव्य रोजेर,
पराई संसारमा आँखा गाड्यौ, किन?
दाह्रा किटेर केही अभिव्यक्त गर्न
हतारिएका, आत्तिएका, मात्तिएका,
मधुर खुलेका,
कुनै वाणी वर्षाउन खोजेका,
केही मागको संकेत देखाएका,
वा केही गुनासो पोख्नै आँटेका,
अर्थात, हुनसक्छ कुनै दौँतरी खोजेका,
ती तिम्रा गुलाफी ओठमा,
मेरा उल्लु आँखा ठोकिएका थिए,
दुईतिर भेरि-कर्णाली उर्लाउँदै,
कठोरता प्रदर्शन गर्दै,
लज्जा दर्शाउँदै,
तर,
तिमीलाई त एक्लै पठाइएको थियो,
गलहत्याइएको थियो,
भवानीसँग पौँठेजोरी खोज्न,
देवताको दास बन्न,
मानवबाट निर्वल जीव बन्न,
अँध्यारो, निसम्म लाग्ने,
त्यो कालकोठरी गोठमा,
छाउगोठमा,
रजोवति भएदेखि।
अनि तिमी ?
बदला पनि लिन जानेकी है?
यही त फरक छ तिमीमा !
एक्लै स्वर्गमा !
उही भवानीको पासमा,
उही स्वर्गमा,
इन्द्रसँग लिन हुँदै रमाउन,
चटक्कै छोडेर हिँड्यौ
निसम्म बनाएर।
आँखाको किनारमा
लाल पेन्टिङ गरेजस्तै,
रगतले आफ्नो बहादुरी पोतेजस्तो,
सेताम्मे हिउँले लाज छोपेको चट्टानझैँ,
आननमा फिँजको गाँज,
र तिमी स्थावर,
किन?
सायद,
तिम्रो उम्लँदो जवानीले हार्यो
तिमीले हार्यौ, हामीले हार्यौँ
हाम्रो संस्कारले हार्यो
पुर्खाको विरासतसँग
रीतसँग
नियमसँग, विधिसँग,
छाउपडीको स्वाङसँग,
आफ्नै देवतासँग
गुप्त कालपाशसँग
सदा सदाका लागि।
भुरिगाउँ बर्दिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला