साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

सुन्दर जिन्दगी

Chovar Blues Mobile Size

कसले भन्न सक्छ,

फूलभन्दा जिन्दगी सुन्दर छैन भनेर ?

दुनियाँलाई नियालिरहेको आकाशलाई

पहिलो स्पर्श गरेको धर्तीलाई सोध

यिनले भन्नेछन्-

दीनदुःखीको फूलबारीमा फुलिदेऊ

उनीहरूका मनका नृत्य हेरिदेऊ

हृदयका गीत सुनिदेऊ

कसले भन्न सक्दैन,

मदर टेरेसाको जिन्दगी

फूलभन्दा सुन्दर थिएन भनेर  ?

 

समुद्रजस्तै स्थिर र शान्त बनाऊ जिन्दगी

हजारौँ नदीहरू समाहित हुनेछन्

धर्म जेसुकै अपनाऊ तिमी

सुखको हिसाबकिताब

कर्मको आधारमा हुनेगर्छ

पराईका पीर र बाधाका बरफलाई

तातो घाम बनेर पगाली देऊ

शासकको जुठेल्नोमा रमाउनुभन्दा

ग्रहण लागेका अनुहारहरूमा

जून बनेर झुल्किदेऊ

महात्मा गान्धी बनेर बाँच तिमी

कसले भन्न सक्छ,

जिन्दगी सुमधुर गीतभन्दा मिठो हुँदैन भनेर ।

 

जिन्दगीको प्रादुर्भाव त सुखकै लागि हो

दुख आर्जन त उपहार तिमी स्वयमको

छहारी देऊ वरपीपलको

मानवता उपर मुठ्ठी खोल

तीर्थस्थलको फल घरमा नै आइपुग्नेछ

सर्पले काँचुली फाले झैँ

घमण्डलाई फालिदेऊ

जिन्दगी चन्द्रमा भै उदाउनेछ

असहायका शरीरसँग अनुवाद भइदेऊ

तिन्का पीरबाधा अञ्जुलीमा राखेर पिइदेऊ

पीडाका सगरमाथामा

परोपकारको झण्डा गाडिदेऊ

जिन्दगीमा खुसीको बिमिरा निस्किने छन्

मिल्ने छ अलकापुरीको आनन्द

सुन्दर जिन्दगी प्राप्त गर्ने

फ्लोरेन्स नाइटिङ्गेललाई हेर

यो धर्तीमा

अमृतरूपी नदी बनेर बगिरहेकी छिन्

उनको जिन्दगी फूलभन्दा सुमधुर भएन र ?

प्रतिक्रिया
Loading...