नालापानीमा
पुर्खा लडेको खबर पढेपछि
कुनै बालकले
आमालाई प्रश्न गर्छ –
“आमा ! देश कसले बचाएको ?”
बालकले जवाफमा
योद्धाहरूले भन्ने पाएपछि
बालकले बनाउँछ
आँगनमा एक सिमाना
र, तोक्छ जमिन यो तेरो यो मेरो हो ।
आफ्नो किल्लामा
बालकले तैनाथ राख्छ
बलभद्र कुवँर र कालु पाण्डेको मूर्ति
दुश्मनको किल्लामा बनाउँछ राक्षस अनुहारको मूर्ति
र भन्छ दुश्मनलाई, “मेरो जमिनमा आँखा नलगा ।”
बालकले
योद्धाहरूलाई भन्छ–
“एक थोपा भए पनि रगत आफ्नो जमिनमा झार्नू ।”
बालक फेरि भन्छ –
“प्यास लागे आँसु पिउनू ।”
बालकले बुझेको छ
दुश्मन हार्यो भने सीमा बाँच्छ
सीमा बच्यो भने देश बाँच्छ
तर
उसलाई कसैले सिकाएन
युद्धबिना पनि धेरै कुरा जित्न सकिन्छ ।
आमाले बालकलाई–
“बन्दुक बोकेर
सीमामा उभिएको सैनिकले
देशको आयु बचाएको हुन्छ ।”
भनेको दिनबाट बालकले
बन्दुकसँग भाँडाकुटी खेल्न थालेको छ ।
कसले भन्दिन्छ त्यो बालकलाई
केवल एक मुस्कानमा पनि
देशको आयु अल्झेको हुनसक्छ ।
आँगनको सिमानामा बालकले भन्यो–
“दुश्मन आए ! आक्रमण ”
ठीक त्यसैबेला पल्लो किल्लामा
आमा आउनुभयो र भन्नुभयो–
“यो युद्ध रोक बाबु !
आऊ म तिमीलाई देशको कथा सुनाउँछु ।”
आमाले
एकीकरणको कथा
वीरताको गीत
सहिदको आँसु
सबै सबै सुनाएपछि बालकले भन्यो–
“आमा ! म देश मर्न दिन्नँ ।”
पृथ्वी जयन्तिमा नेपाली सेनाद्वारा आयोजित राष्ट्रियव्यापी कविता प्रतियोगितामा उत्कृष्ट दशमा पर्न सफल कविता
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।