कवि राज्यवर्द्धनको परिचयः
कवि राज्यवर्द्धनको जन्म ३० जुन १९६० मा जमालपुर, बिहार, भारतमा भएको हो । रेलवे इन्जनियरका रूपमा लामो समय काम गरेका उनका हिन्दुस्तानका चर्चित पत्रपत्रिकाहरूमा फिचर्स, लेख, अग्रलेख, रिपोतार्ज, समीक्षा तथा कविताहरू प्रकाशित छन् । उनले ‘स्वर-एकादश’ (समकालीन एघार कविहरूका कविताको सङ्ग्रह) को सम्पादन गरेका छन् । बोधि प्रकाशन, जयपुरबाट सन् २०१३ मा प्रकाशित कविता सङ्ग्रह- ‘कबीर अब रात में नहीं रोता’ उनको प्रकाशित कृति हो । उनका कवितामा जीवनको गहिरो चिन्तनको सुललित प्रस्तुति पाइन्छ । पछिल्लो मयमा लखन सुरु गरेर पनि सुन्दर कविता रचना गर्ने कविका रूपमा उनलाई लिइन्छ । भाषान्तर कविताको यस अङ्कमा उनै कवि राज्यवर्द्धनका पाँच कविताहरू प्रकाशित गरिएका छन् ।
१. जब तिमी आउने छ्यौ वसन्तमा
राज्यवर्द्धन
एउटा अनुहार छोडिआएथेँ
पार्कको बेन्चमाथि
सोचेको थिएँ-
जब तिमी आउने छ्यौ वसन्तमा
अघाउँजी बात मार्ने छौँ हामी
चराहरूलाई भन्ने छौँ-
सङ्गीत सुनाउन
सट्टामा तिनलाई
दिने छौँ कोदोका केही गेडाहरू
फूलहरूलाई भन्ने छौँ-
फुलिदिनका लागि
जहाँ मादक सुगन्धमा डुबेर
नाच्न सकौँ हामी
सट्टामा जैविक गोबर मल
छरिदिने छौँ तिनका जराहरूमा
सूर्यलाई भन्ने छौँ-
चम्किदेऊ स्फटिकजसरी
जहाँ हामी लिन सकौँ मनभरि
न्यानो यामको आनन्द
सट्टामा उलाई दिने छौँ
अर्घ्य अँजुली भरिभरि
महुवाको फललाई भन्ने छौँ-
झर्नका लागि
धरतीमा खसेका
अमृत फल चाख्ने छौँ
सट्टामा उसलाई
दिने छौँ पिउन
उसकै फलबाट बनेको मदिरा
जहाँ अझ सकियोस्
छर्न मादकता
माघको जूनलाई भन्ने छौँ-
बर्साउन रश्मिहरू
रात रानीका फूलहरूले सजाउन सकूँ
तिम्रो चुल्ठोलाई
सट्टामा भरिदिने छौँ जूनलाई
ताराका बुट्टाहरूले
थाहा छ-
जब आउँछ्यौ तिमी वसन्तमा
इन्द्रधनुष ओर्ली आउने छ धरतीमा
तिम्रो काखमा
हुने छ मेरो शिर
त्यसपछि कसले मरिहत्ते गर्ला
स्वर्गका लागि !
***
२. बुद्धसित संवाद
राज्यवर्द्धन
भनेका थियौ तिमीले-
ससारमा दुःख छ
दुःखका कारण छन्
र, ती दुःखको निदान पनि छ
तर
जीवन सङ्घर्षबाट थाहा पाएँ
सम्भव छैन हरेक दुःखको निदान
सम्झाएँ मनलाई
जुन दुःखको निदान
छैन आफ्नो सामर्थ्यभित्र
किन दुःखी हुनु त्यसका लागि !
सत्य भनूँ
तथागत !
जब मनमा आयो यो विचार
सारा दुखहरू तिरोहित भए
कपूरजसरी तत्क्षण
… र भेटियो
दुःखहरूबाट मुक्ति
सदासदाका लागि
किनकि थाहा पाएँको थिएँ
जीवनको परम सत्य !
तिमीले ठिक भनेका थियौ
तथागत
अप्प दीपो भवः ।
***
३. प्रेमपत्र
राज्यवर्द्धन
संसारको सबैभन्दा उत्कृष्ट रचना हो-
प्रेमपत्र !
धरतीमा सबैभन्दा बढी जीवन्त रचना हो-
प्रेमपत्र !
जब रचना गर्छ कसैले प्रेमपत्र
पढ्छ जब कसैले प्रेमपत्र
लेखिरहँदा-पढिरहँदा
तन-मनमा
अदृश्य
परमाणुको महाविष्फोट जसरी
धरै थोक घटित हुन्छ
राता हुन्छन् कानहरू
पार्श्वमा बज्न थाल्छ राग वसन्त
चराहरूजस्तै उन्मुक्त भएर मन
बिस्तारै बिस्तारै भर्न थाल्छ उडान
कहिलेकहीँ त सजल हुन्छन् आँखाहरू
भिज्छन् कबीरका हात
बाँचिरहन्छ प्रेमपत्र
त्यसैले बाँचिरहन्छ प्रेम पनि
बाँचिरह्ये प्रेम भने
बाँचिरहनेछ संसार पनि
जोगाएर संसारको दृष्टिबाट
बचाइराखेको छु मैले
प्रेमपत्र
संसारकै सर्वोत्तम धरोहर हो प्रेमपत्र
जसले मानिसलाई बनाइराख्छ चिर युवा
के तपाईँसित कुनै प्रेमपत्र छ ?
***
४. किताब
राज्यवर्द्धन
पढ्दा तिमीलाई
खुल्ने गर्थ्यो
अन्तर्द्वन्द्वको गाँठो
जागृत हुन्थ्यो
प्रज्ञा
सहज हुन्थे
बाङ्गाटिङ्गा बाटाहरू
जीवनका
थाहा पाउँथेँ
कहाँ टेक्नुपर्छ पाइला
सोचविचार गरेर
अब छुटिसकेको छ
बर्सौँदेखि
तिम्रो सङ्गत
अब त दिनहुँ
मात्र देख्छु
सुन्छु
स्तब्धता
चाट्ने गर्छु
अफिम जसरी
उत्तेजनाको फिँज
बजारसित
मिलाउन खोज्दाखोज्दै पाइला
भइसकेको छु
निर्द्वन्द्व
जान्दछु
यो भड्किलो संसारमा
चम्किला छन् सबैथोक
तर ती सुन होइनन् ।
***
५. कागजको डुङ्गा
राज्यवर्द्धन
कागजको डुङ्गा
बाल्यकालको
अहिले पनि बढिरहेछ
पानीमा
फरक मात्र यत्ति छ-
म छैन त्यसमा
छन् मेरा छोराछोरी
त्यसैले जिद्धी गर्दिनँ म
कसैसित
काजगको डुङ्गा
फिर्ता गर भनेर ।
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।