बीचमा छु म,
एकापट्टी तिमी
ओठमा आगो बोकेर मुस्कुराइरहेछौ
अर्कोपट्टी बम
शिशुजस्तै चुपचाप खेलिरहेछ !

लाग्छ,
तिम्रा निधारका धर्साहरु
आगोका लप्का हुन्
तिम्रा गालाका ऋतुहरु
आगो चपाउन आतुर छन्
र, तिम्रा ती नयनले
आगै जमाइरहेछन् !

यो समय
कस्तो दोधारमा छु म,
यो फुच्चे बमसँग डरौँ
या तिम्रो छद्म मुस्कानसँग ?