१. अँध्यारोमा रात

(ठाकुर बेलबासे)

अँध्यारोमा रात
उज्यालोसँग सधैँ जिस्किन खोज्छ,

रात उज्यालोसँग
अँध्यारोमा
प्रेमिल लडाइँ लडिरहँदा
तल पर्न चाहँदैन !

मीठो लडाइँमा पनि
हारजीतको साँध जगाएर
रात अँध्यारो बन्दै
हारेको पत्तै नपाई
उज्यालोमा पोखिइसकेको हुन्छ !

अँध्यारोमा रात
उज्यालोलाई सधैँ जित्न खोज्छ
र, सधैँ हारिरहन्छ ।

 

२. आत्मज्ञान

(मणि लोहनी)

उसले रङ्गहरू पोख्यो
क्यानभास जलायो
ब्रसहरू भाँचकुच पार्यो
र भएका सम्पूर्ण पोट्रेटहरू फ्याँकिदियो !

म छक्क परेँ
यो महान् कलाकारलाई के भएछ !

बुझ्यौ मणि ?
व्यर्थै मैले तीसतीस वर्ष खेर फालेँ,
जीवनभन्दा शाश्वत रङ्ग
र दुःखभन्दा कालजयी चित्र
आहा ! अरू हुँदै हुँदैन रहेछ !

 

३. दुःख

(सुरेन्द्र देवकोटा)

तपाईँ बुझ्नुहुन्न—
दुःखको बजारबाट आएको
त्यो कोलाहलजस्तो भाषा,
दुःखको जङ्गलमा बजिरहेको
त्यो न्याउलीजस्तो सङ्गीत,
दुःखको पहरोमा ठोक्किई आएको
त्यो आर्तनादजस्तो प्रतिध्वनि,
दुःखको कसौँडीमा छड्किएको
त्यो गुदगुद आवाज,
दुःखको जिब्रोबाट चुहुने र्याल !

दुःखको भाषै नबुझी
दुःखको सङ्गीत नपढी
दुःखको पहाड नबोकी
तपाईँले लेख्नुभएछ—
दुःखको कविता !
कविज्यू,
यसमा मलाई दुःख छ ।

 

४. आँशु हिँड्ने बाटोमा

(शान्ति प्रियवन्दना)

आँशु हिँड्ने बाटोमा
खाल्डाखुल्डी हुँदैन

आँशुलाई थाहा छ
पीडा दिनु हुँदैन अरूलाई
चोट पुर्याउनु हुँदैन अरूलाई

जान्दछ आँशु
हिँडेपछि बाटोलाई दुखाउनु हुँदैन,
त्यसैले आँशु हिँड्ने बाटोमा
घाउ–खत केही पनि हुँदैन ।

 

५. छाउपडी

(प्रज्वल अधिकारी)

च्याउले एक दिन रुँदै भन्यो—
म र ऊ सँगै छिरेका थियौँ
यो उकुसमुकुस कोठामा,
ऊ त्यहीँ मरी,
म उसको छातीमा उम्रिएँ !