वर्तमान नेपाली साहित्यमा निक्कै लोकप्रिय भइरहेको मुक्तक प्रभेद नेपालभाषामा ६ देखि ३ दशकअघि निक्कै लोकप्रिय भएको थियो । त्यस बेलाका साहित्यिक पत्रिकाहरू पल्टाउँदा स्थापित तथा नवलेखकहरूले सैयौं हजारौं मुक्तक रचना गरेको पाइन्छ । तिनमा वद्ध तथा मुक्त दुवै किसिमका छन्, तर तुलनात्मक रूपमा मुक्त शैली नै बढी अनुशरण गरेको भेटिन्छ ।
त्यस बेलाका मुक्तकहरूमा शीर्षक राख्ने र नराख्ने दुवै प्रचलन रहेका छन् । मूल शीर्षक केही मुक्तक, दुइ मुक्तक, दश मुक्तक, आदि भनेर राख्ने र हरेक मुक्तकमा स्वतन्त्र शीर्षक राख्ने र बिना शीर्षक संख्या मात्रै उल्लेख गर्ने पनि गरिएका छन् । आकारमा तीन पंक्तिदेखि सात पंक्तिसम्म फैलिएका छन् । पंक्ति जति भए पनि, मुख्य कुरा, हरेक मुक्तक पढ्दा पाठकको आँखामा एकै दृष्य आएर टुंगिने हुन्छन् ।
नेपालभाषाको सय वर्षका कविताहरूको प्रतिनिधिमूलक सँगालो ‘सच्छिदँया नेपालभाषा काव्य ल्यया’को मुक्तक खण्डमा २८ कविका ७० मुक्तक समावेश छन् । गत हप्ता सो सङ्ग्रहबाट छ जना कविका मुक्तक प्रस्तुत गरेको थिएँ । यसपालि आठ जना कविका मुक्त प्रस्तुत गरिएको छ । )
अनुवादकः आर. मानन्धर

जिन्दगी

रमेशचन्द्र मधु

(अत्यन्त गहकिला कविता लेख्ने (स्व.) रमेश मधु (ने. सं. १०६० — ११०५) कविताको गहिराइ बुझ्ने समालोचकमा पनि गनिन्छन् । उनले आफ्नो जीवनकालमा नेपालभाषा, नेपाली, हिन्दी र अँग्रेजी चारै भाषामा उत्तिकै दख्खलताको साथ लेखेका छन् ।)

आफ्नै दैलोदेखि आफ्नै नाममा
बालु जानुपर्ने
उपाकु जानुपर्ने
जिन्दगी ।
तिम्रो गःचाः घुम्दै छु म
लँगडो खुट्टा खोच्याउँदै, खोच्याउँदै ।

बालु — शतबीज छर्ने ।
उपाकु — इन्द्रजात्रामा पितृमोक्षको लागि काठमाडौं शहरमा काँचो पालमा बत्ती राख्दै हिँड्ने परम्परा ।
गःचाः — स्वयम्भू परिक्रमा ।

….

कविता

पुष्कर माथेमा

(नेपालभाषा र नेपाली साहित्य दुवैमा चिरपरिचित माथेमा पत्रकारितामा पनि उत्तिकै स्थापित व्यक्तित्व हुन् । कथा, कविता, गजल आदि विधामा निरन्तर कलम चलाउने उनी गोरखापत्र र द राइजिंग नेपाल दैनिकका प्रधान सम्पादक रहिसकेका छन् ।)

बाँच्ने क्रममा
निल्न नसकी
कलमले ओकल्यो
घाँटीमा अड्केको
असन्तोषको खकार !

जीवन

शाक्य सुरेन

कच्चा बाटोमा
ओभरलोड यो जीवन ।
माछा जत्तिकै चिप्लो
दुर्घटनामा टेक्दै पाइला
आफूलाई अघि बढाउँदै छु ।

साहस

विजय स्यस्यः

निहत्था,
तैपनि जनता
बन्दुकसित भिडेको इतिहास छ,
साँच्चै त तिनीहरूको शस्त्र भनेकै
अदम्य साहस हो ।

इतिहास

बुद्धिलाल ज्यापु

प्रूफ मिस्टेक हो वा
जानाजानी नै हो
मूख्य पात्र नै छुटाएर
कोरिएको शोषकका कथा ।

ओमराज प्रजापति

प्रकृतिको गीत
गाउँदै हिँड्छ गाइने
सारङ्गीको धुनमा
आफ्नो व्यथा लुकाएर ।

 

स्थिति

किरण सायमि

सुतौं त—
खुट्टा पसार्न मिल्दैन
उठौं त—
टाउको उठाउन मिल्दैन
खै, कसरी बाँचूँ भनुँ म !

 

रोगी समय

रामशरण महर्जन

आकर्षक मुखबाट
निस्केका नम्र आश्वासनले
मेरो सिङ्गै धरती
वीभत्स ! वीभत्स !

थुक्क !

धन्य हजूर
झ्याली पिट्दै हुनुहुन्छ—
मै उत्तम !
तँ खत्तम !