देश, यो हिमाली पर्वत जहाँ हिउँ सँधै झुल्दछन्
पाखामा फूल फुल्दछन् जहिँतहिँ बास्ना खुबै छर्दछन्
नेपाली जनको अपार धन हो यो देश जलको धनि
हो रत्नै सरिको अमूल्य निधि यो, दिन्न म बस्छु रमि

शोभा दिव्या धरा हो प्राण सरिको, नेपालीको जीवन
लैजाऊ बरु प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन
सीमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा
दिन सक्दिनँ लौ चिमोटी म भूमि पारेर यस्को चिरा

माग्छौ लौ शिर यो झुकाई म बरु यस भूमिमा आखिर
चढ्न लौ छु तयार म पनि बलि यस देशका खातिर
यो हो देव भूमि यस विश्वभरमा छैन है मूल्य कुनै
यस्का खातिरमा छिनाई बरु लौ दिन्छौ तीनकोटी शिरै

माटोमा नदी कलकल बगिकन, सिञ्चन जलैले गरी
धर्तिका मुखमा दिई खुशी खुबै, नाचेकी हुन झैँ परी
पाखा पर्वत र तराई बनमा संजीवनी फल्दछन्
देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन्

धर्तीबाट बगी कति हिमनदी देश उर्वरा पार्दछन्
झर्ना कलकल बग्दछन जहिँतहिँ भूमि सबै रम्दछन्
कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन्
चौरी खर्क अनि ती लेकहरुमा पंख डोलाउँदछन्

लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी
मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी
सूर्यको जब ज्योति पर्छ भूमिमा, हिमाल मुस्काउँछिन्
चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन्

खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ
स्वर्गै लाग्दछ यो धरा हर बखत यहीँ नै म बाँचौँ मरौँ
मेचीको जलमा नुहाई शिर यो काली पुगौँ मन धुन
यस्तो पावन यो भूमि अलिकति दिन्नँ तिमीलाई छुन

आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरिकन
शान्तिका दूतको यो जन्म भूमिमा गर्नु बसी प्रार्थना
नेपाली मनका अपार धनि छन, कुवेरझैँ छ मन
भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन ।