
सहदेव गौतम
जस्तै आँधीबेरी नआवोस किन
असिना पानीले नै नपिटोस किन
धपधप गर्दै
आगो उगेल्ने घाममा पनि
शान्त, सौम्य रहन्छौ तिमी
डगमगाउँदै रत्तिभर |
तिम्रो उपस्थितिमा
पहाड-पर्वतले आफ्नो अस्तित्व
कायम राखेका छन्,
तिमी थिएनौ भने
भत्केर, बगेर, उडेर
चिन्हारी नै हराउने थियो |
हुन त तिमीले
आफ्नो छातिमा
केही उब्जाउन सकिन भन्ने
दुख: त बोकेकै छौ होला |
तर तिमी,
अस्तित्वको प्रतीक हौ
धर्यताको अनि
निडर प्रहरीको,
तिम्रो मुकाबला गर्नेको
सधैं हार भएको छ |
आफ्नो जितको
विजय उत्सवमा मात्तिन्नौ ,
विजय उत्सव त
अल्पायुहरूले मनाउने
चाडपर्वहरू मात्र हुन् |
तिमी चर्किन सक्छौ
फुट्न सक्छौ
चोइटिन सक्छौ
र पनि आफ्नो अस्तित्वमा
अटल छौ |
तिम्रो विशाल कायालाई
ईश्वरको मूर्तरुप सम्झी
नतमस्तक हुन्छन् |
बालकहरू आमाको
काखबाट बुई चढ्दै-चढ्दै
काँधमा बसि रमाए सरि
शैलानीहरू
तिमीसँग रमाउने गर्छन् |
भीमकाय हौ कि
सूक्ष्मकण तिमी
पूजा गरुन् कि
जुठेल्नोमा फ्याकुँन्
केही फरक पर्दैन |
जहाँ छौ, जे छौ
जस्तो छौ, जत्रो छौ
कही फरक पर्दैन
तिमी, तिमी नै हौ
चट्ट चोइटिएर पनि
आफ्नो अस्तित्वमा नै छौ
अस्तित्वका प्रतीक हौ
तिमी चट्टान हौ |
ओदालगुडी, असम, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

