जिउँदो वा मुर्दा
खुला क्षितिजलाई हाँक दिदै
पालुवा मत्स्यहरुलाई आफैँ जाल फ्याँकेर
जस्तै, यो युगका मानिस आफैँ
अगाडि लम्कँदै, पछाडि फर्कंदै
धोइरहेछ आफ्नै विवेक, पखालिरहेछ आफ्नै बुद्धि
मृत्युजन्य दौडमा को अगाडि हुने
कसको जीत हुने कल्पनामा रम्दै
दुखाइरहेछ शान्ति
प्रत्येक पाइला बढाउँदै गन्दैछ मृत्युको समय
आफ्नै निम्ति बनाएको ग्याँस च्यामबरमा
आफैँ ध्वंश निम्त्याउँदै
आफैँ पर खन्दैछ स्वमृत्यु
हरियो भरिलो निलो आकशमुनि
मडारिरहेछ आफ्नै मृत्यु
एटमको त्रासमा, रोगको त्रासमा
भोकको त्रासमा, साम्राज्यको त्रासमा
त्रासद समयको उचाइमा
विवेकशून्य मानव बनिरहेछ अस्थिपन्जर
म आफ्नै लागि आफैँसँग गरिरहेछु द्वन्द्व
निम्त्याएर यो ध्वंश
यही विशाल नभमा
फ्याँकिरहेछु जालो स्वयंलाई पासो म पार्न
प्रकृतिलाई टक्कर दिँदै बाँचिरहेछ मुर्दातुल्य जीवन
डोमोक्लेसको तरबारझैँ
मडारिरहेको टाउको माथिको मृत्यु पनि चिन्न असमर्थ भै
भोजमा निमग्न
आफ्नै मृत्युको रेखा कोरिरहेछ
बनेर मुर्दातुल्य जीवन
बाँचेर मुर्दातुल्य समय ।