दिनको सुभारम्भ हुने
तिम्रै प्रार्थना गरी
खुशीले मुस्कान फैलिँदा होस्
गाह्रोले
मन भरिदा
तिम्रो एक बोलीले
जोशिला बन्छन्
डग्मगाएका आँटहरु
प्राण त तिमीमै बसेको छ
स्वाश तिमीमै अड्केको छ
आँखामा प्रतिबिम्ब तिम्रै
लाग्छ,
तिमीबिनाको संसार छैन
तिमी छौ
र त म छु
तिम्रै मायाभित्र फक्रेकी म
जीवनको यो क्यानभासमा
तिमी नहुदॊ हो त!
अहं,त्यो कल्पनामै छैन
तिम्रा हात समाउदै
हिड्दै गरेको पद्चाप
तिम्रै इतिहास कोर्दै
तिमीले गरेका त्याग तपस्या
तिम्रो बिम्बजस्तै
अडिग अनि अब्बल छ
र त,
परिस्थितिसँग सम्झौता गर्दै गर्दै
बढेकी छु तिमीले हिँडाएको
ती संघर्षका गोरेटाहरुमा
कहिले लड्छु
चिप्लिछु
फेरी उठ्छु
आत्मबिश्वासको त्यान्द्रा बटुलेर
छोरी लड्छिन् कि
लड्दालड्दै हार्छिन् कि ?
ढुक्क बन तिमी
किनकि,
जीवन युद्धको स्मरण बोकेर
निरन्तर सिँढीमा हिँड्न
तिमीले नै त सिकाएकी छौ
चिन्ता किन गर्छौ आमा ?
तिमीले पढ्न नजाने नि
तिमीले लेख्न नपाए नि
ती कोरा कागजमा
के भो त ?
तिमीभन्दा असल बन्न सिकाउने
विश्वविद्यालय संसारमै छैन आमा
बरु ,
तिमीले देखाएको उजेली पथले
जिजीविषाको लय दिन्छन्
भाकाहरू समेट्छन्
जिउनुको मिठो आभास दिलाउँछन्
तर आमा,
तिमीबिनाको घर
‘घर’ जस्तै लाग्दैन
तिम्रो स्नेही काखबिना
सन्तोषको निद्रा लाग्दैन
चिर्चिर फुटेको तिम्रो हातबिना
स्वादिलो भात लाग्दैन
ल्यापटपअघि तिम्रै तस्बिर हेर्छु
तिम्रा बोली सुन्छु भाइबरमा
तिम्रा गाली नि सुन्छु
माया नि महसुस गर्छु
अनि,
बिरानॊ यो शहर नि
आफ्नै लाग्छ
चन्द्रमाको जून नि
तिमीझैं लाग्छ
आमा,
तिमी त यहीँ यतै छौ
मेरो मनोबलमा
भावनामा
जतातता सर्वत्र छौ
बरु आमा,
छोरीले सम्झिन भनेर
चित्त नदुखाऊ ल
भौगोलिक संसार त हो नि
मन त एक हो नि
कान्छालाई बेलाबेला फोटो
अनि मेरा दिनचर्या पठाएकी छु
त्यही हेरी मुस्कुराऊ है ?
‘बा’लाई एउटा चश्मा
अनि गलबन्दी पठाएकी छु
चिसॊ अनि संसारिक धुलॊबाट
टाढा बस्नुस् भनेर
कान्छा बेलाबेला गुनासॊ गर्छ
अझैं नि कोठाभरि
मेरा बालापन यादहरु
उस्तै छन् रे
चिन्ता नगर आमा
समयले सबै पाठ सिकाउँछ
सम्झनाका ज्वारभाटाहरुले
नहिर्काएको कहाँ छ र आमा ?
ऋतुहरु फेरिन्छन्
पालुवा पलाउँछन्
सुन्दर पल आउँछ
अधेरी रातपछि
उदाउने त सुनौलो बिहानी नै हो
र त,
अझैं स्फूर्त छ मन तन
हस्त आमा
अब आउने बर्खामा त
पक्कै सँगै रोपाईं गरुँला नि हस्?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

