साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः माहिली आमा र नारी दिवस

माइली आमालाई म सोध्छु
थाहा छ हजुरलाई नारी दिवस के हो ?
उहाँलाई यत्ति थाहा छ रे
जवाफमा-
ऊ बेलामा एउटै सियोले
कैयौँ भुत्ताहरू सिलाइन्थे
पुरुष सियो हामी भुत्ता
उमेरले सिर्जेका रहरहरू
एकतर्फी हिमाल चुम्थे
पुरुषका रहर हिमाल
हाम्रा मैदान
सिउँदोमा पोतिएका सम्बन्ध
कम्मरका पटुकीमा टनटनी कसिए पनि
इच्छाहरू खुकुला हुन्थे
पुरुषका हातमा तरबार
हामीसँग भुत्ते कचिया
पवनले बोकेका सुगन्धले समेत
विभेद गर्दै
पुरुषकै साहस भर्थ्यो
हामी दुर्गन्धित
आफूमा उनैका सुगन्ध सारेपछि
एकपटक चुसेपछि
ओकलिएका उखुका खोस्टा हामी
उनीहरू हामीलाई
बडो स्वादले चपाउने बलिया दाँत
अहिले
भर्याङ उक्लिएको समयले
कुर्लेर सहरबजारमा
नारी दिवसका भाका गाइरहन्छ रे
भनेको सुन्छु मात्रै

उहिले नै
थाकिसकेका मेरा मनमा
लय माग्दै गुमेका जीवनको
छोरीका सुन्दर भविष्यको
अनि
घर माइतीका
समान ऐँचोपैँचोमा
कुर्लने जाँगर छैन
थुम्सेभरी खाँदेर
दसभारी नारी दिवस सित्तैमा दिए पनि
हिसाबकिताबमा
दोब्बर फिर्ता लिएरै छाड्ने
घरघरमा
सत्ता जीवितै छ
केवल नाम नारीका
भोज र मोज अरूका
भए पनि रित्तै
नभए पनि रित्तै
घरकै रीतिस्थितिको खम्बाले सगर चुमुञ्जेल
नारी दिवसमा एक दिन कुर्लेर के हुन्छ?

प्रश्नमा प्रतिप्रश्न गर्दै
अरिङ्गाल खनिए झैँ
उहाँ मै माथि खनिनुहुन्छ-
नारी दिवसले खै कुन नारीलाई सुख दियो ?
कसलाई न्याय दियो ?
कसका रहरका पोल्टा भर्यो ?
कसले घाँसका भारीसँगै
दुःख बिसाउन सक्यो ?
कसले आफ्नै नाकले सास फेरेर
आफ्नै गोडामा उभिएर बाँच्न सक्यो ?
बेतैपिच्छे घटेका मूल्य अनि
थाकेका गाई फोएर धपाएझैँ
कसले जोत्न नसक्ने गोरु फेरेर
जोडा मिल्दो हल नार्न सक्यो ?
मुखमा लिउञ्जेल
रसिलो रसबरी हो नारी दिवस
चिल्लो नौनी हो
घाम नलाग्दै
तातो वायुले पगाल्छ
डाँडा गाउँको ठूलो
सिमलका वृक्षबाट
छुटेर आकासिएका सफेद फूल हो
कुराकै भरमा मात्रै वायुपङ्खी यान बन्ने
सपनाको यान
विपना जहाँको तहीँ

अनेक दृष्टान्त र प्रश्नमा
माइली आमाले
मलाई नै केरेपछि
मभित्रकै नारी दिवसको जोश समेत
हावामा फुस्फुसाउँदै
अनि
उहाँकै किसमिसे अनुहारका
लहर झैँ उदास हुँदै
डाँडा काटिरह्यो ।

गोरखा

प्रतिक्रिया
Loading...