चर्कोगरी लागेको छ घाम
बगिरहेछ निधारबाट धारा पसिनाको
चुँढिएको छ पैतालाको चप्पल
बटारेर बटारेर बटारेर स्टेरिङ
ठेलाहरूले विरुप बनाएको छ हातको पञ्जा ।

ऊ रिक्सवाला
छोरीको स्कूलको निम्ति घामपानी सहन्छ ।

आफ्नै हातले निमोठी मारेको
झल्झलाउँदो सेप्माङलाई सम्झिन्छ र खान्छ
लिम्बुनी माइलीको भट्टीमा लोक्कल वाइन्
अनि बेस्मारी गाली गर्छ तागेरानिङवाफूमाङ्लाई।

ऊ हरेक साँझ रक्सी खाएर
मेटाउछ थकान् र बिर्सिपठाउछ
केहीबेरलाई समस्याको फक्ताङलुङ।

ऊ रिक्सावला
श्रीमतीको हस्पिटल खर्चको निम्ति भोक सहन्छ ।

ऊ पानी खाएरै टार्छ भोक
टार्छ औषधी नखाएरै असङ्ख्य बिसन्चो
गाउछ पसिनाको हाक्पारे
अनि तान्छ भाग्य हराएको गल्लीतिर रिक्सा।

आधोकिन् गायिनको तुगेरो
सोमिते थेमान् थेमान् याम्बक् चोक्मारो।

ऊ रिक्सावला
बेस्मारी सम्झिन्छ आफ्नो भत्किएको घर
र ठहराउँछ कल्पनामा बजारको चोकैमा बिल्डिङ।

कुनै बेला
बढेछ भने अदुवाको भाउ
सप्रिएछ भने अलैँची
फूले छ भने कुच्चो
अथवा सुध्रिएछ भने यो देशको अर्थनीति ।

ऊ थुन्सेँभरि बोकेर खुसी फर्किने छ गाउँ।