उहिले

पहाडी  पाखातिर  बाजे-बज्यूका आस्थाहरू

झरझराउँदा भएर सलबलाउँथे

उनीहरूका सुस्केराहरूमा

महाशान्ति चलमलाउँथे

पाती चढाउने औलाहरूले

बाजे-बज्यूका आस्थाहरूलाई नै नमन गर्थे

अचेल भने आस्थाहरू पाती नपाएर

झ्याउले पुरिएका छन्

बेवास्ता भएर अनास्था भएका छन् ।

 

अचेल

उज्यालो पनि नखसी

टर्चलाइट बालेर

कानमा इएरफोन लगाएर

मोबाएल फोनबाट गीत सुन्दै

देउरालीको छेवै भएर

मर्निङवकमा

हिँड्नेहरूलाई चुपचाप हेरिबस्छन्

बाजे-बज्यूका आस्थाहरू

पातीहरूको आशामा ।

 

उहिले

घाँस र दाउराको लागि

देउरालीहरूमा पाती चढाउँदै

जङ्गल पस्थे बाजे र बज्यू ।

देउरालीको छेवैमा भएको

चप्लेटी ढुङ्गामाथि भारी बिसाएर

बाजेका पसिनाहरू सुक्थे

एउटा कटुवा सल्काएर

एक सर्को तानेपछि

बाजेका दु:खेसोहरू धुवाँसितै

केही क्षणलाई माथि उड्थे

बज्यूका बेथाहरू पनि धुवाँसितै

केही क्षणलाई पर सर्थे ।

 

अचेल

मर्निङवकमा हिँड्नेहरूलाई

पछ्याउँदै आएका भतुवा कुकुरहरूले मुत्ने

फोहोर ठाउँमात्र  भएछन् देउरालीहरू

झ्याउले पुरिएका

ढुङ्गामात्र भएछन् देउरालीहरू ।

 

कठै ! आस्थाहीन आस्थाहरू !

उहिले र अहिलेका

आस्था र अनास्थाहरू !

 

घाँस र दाउराको भारी बोकेर

बाजे-बज्यू खाली खुट्टै हिँड्ने

देउराली भएको त्यो चोर बाटोमा

अचेल कोही पनि हिँड्दैनन्

हिँड्छन् त दिनहुँ

त्यहीँ चोर बाटोको छेवैमा बनिएको

अल्कत्रे फराकिलो बाटोमा

भुलेर छेवैमा उहिल्यै स्थापित

बाजे-बज्यूका आस्थाहरू ।

 

अचेल त

बाजे-बज्यूले हिँड्ने बाटाहरूमा

व्यभिचारका गाड़ाहरू दगुर्छन्

बाजेका पीरहरूलाई कुल्चेर

बज्यूका बेथाहरूलाई टेकेर

पुर्खाका आस्थाहरू खेल्ने देउराली पाखातिर

दुराचारका पाठाहरू चर्छन्

पुर्खाका सपनाहरूलाई  टोकेर

पुर्खाका जपनाहरूलाई  रोकेर

बेला कुबेला  ।