पूर्व कथा–
पक्का हुन सक्दिनँ अझै
त्यो साँझ थियो
या थियो बिहान
विपना थियो
या थियो सपना

नवीन प्राचीन (क्यानडा)

मात्र यति याद छ
घाम सुनौलो थियो र
उज्यालो थोरै थियो
उक्लिएको थिएँ
शहरको सबैभन्दा अग्लो डाँडो

फर्काएर शहरलाई पीठ
छिरेको थिएँ
आफू भित्रको
सबैभन्दा अँध्यारो गल्ली

ओहो ! त्यहाँ
एउटा बालक कैद थियो
हात, मुख, आँखा
बाँधेर लडाइएको

खोलिदिएँ सबै बन्धन
र सोधेँ उसको नाम
ऊ फिस्स हाँस्यो
र बेपत्ता दौडियो

आज–

बजाइन
एकाबिहानै
पूजाको घण्टी
सल्काइन
कुनै दियो
अगरबत्ती

सुनेँ कान थापेर
मभित्र सधैँ गाइरहने
कहिल्यै ध्यान नपुगेको
अज्ञात गायकको आवाज

सुँघेँ आफ्नै जीवन
माटो जस्तै गन्हायो

घुमेँ
आफ्नै हृदयको मन्दिर
र ढोगेँ
खै कसलाई,
याद भएन

हिँडे
नलागाई
भित्री वस्त्र

सधैँ तर्किएर हिँड्ने
बाटोको खाडल
उफ्रिएर नाघेँ

फूल सुघेँ
बोटमै गएर

जवान हुँदा सुनेको
छाडा जोक सम्झेँ

एक्लै हाँसेँ

साँझ
हामीले गहिरो चुम्बन गर्यौँ
बिल्कुल
वर्षौँ पहिलेको
पहिलो चुम्बन जस्तै ।

सम्झदैछु अहिले–
को थियो त्यो
वर्षौँदेखि
मभित्रै
अपहरणमा परेको ?

प्राचीनको कवितासंग्रह उभिएर एक्लैबाट