माग्दा एक हिस्सा प्रेम
दुई मुटु एकै बनेकासँग
ठूलाे भूल गरेँ रे

चाहँदा अपनत्वकाे अनुभूति
सबथाेक सुम्पिसकेकासँग
ठूलै भूल गरेँ रे

भिर्दाभिर्दै कर्तव्यकाे एकाेहाेराे माला
घाँटीका चट्टान घाेटिएपछि
पहाड खस्ने डरमा
माग्दा जीवनेच्छाकाे त्यान्द्राे
ठूलै भूल गरेँ रे

टुसुक्क बस्नै भूलिसकेकी म
हताराेमा ठाडै जीवन रस पिउँदा
सर्किएर खाेके अशान्त भाे घर
ठूलै भूल गरेँ रे

सुस्तरी बाेल्दाबाेल्दै

अम्बिका अर्याल

स्वर पातालमा दबेपछि
बिरालाका चाला नापेर
भान्साका भारी बाेकेर
घरजस्तै निर्जीव बनेपछि
भुरादेखि मुढासम्मका
असन्ताेषकाे बरियामा अडेकाे
विस्मातकाे भारी नबिसाई
थाप्लाेमा कतिञ्जेल धानी
जीवनरथ चलाउँला
मन खाेज्छ साेध्न तर काेसँग साेधाैँ
केवल साेच्दा नि
ठूलै भूल गरेँ रे

जुध्नु हुँदैन आँखा
बुझ्नु हुँदैन भाखा
गर्नु हुँदैन प्रतिप्रश्न
साँट्नु हुँदैन व्यथा
चाल्नु हुँदैन पाइला अन्यत्र
त्याे नितान्त उनैका विरासत
नाघ्नु हुँदैन बुहारी धर्म
दुख्नु हुँदैन आफ्ना रहरले
सुक्नु हुँदैन संस्कारका ठहरले
त्याे उनकै परिवारकाे निजी विधान

नाच्नु, हाँस्न, डुल्नु, घुल्नु
कहाँ बुहारी धर्म हाे र ?
मुखमा मुख मिलाउँछ ऊ
वनका मृग झ‌ैँ आफू फुक्का छ
गर्वले छाती चाैडा छ
हुन पनि
नियम साङ्लाेमा पहिलाे हस्ताक्षर उसकै छ
दफा र उपदफामा अरूकाे
नमाने एकप्रतिशत किञ्चित
ठूलै भूल गरेँ रे ।

एक्काइसौं शताब्दीमा पनि यस्ताे?
आधुनिकताका परिधानले निले पनि
वयभित्रकाे लय जङ्गली बनेपछि
के लाग्दाे रहेछ र अरूकै अंशकाे
रजाइँ छ केवल उनकै वंशकाे
खाेल्दा धारिला मुख सम्मुख
ठूलै भूल गरेँ रे ।