
आयुष बडाल
साँझपख पढिलेखी
विद्यालयबाट घर फर्किँदा
केटाहरू
मेरो पछिपछि लाग्दै गर्दा
फेर्दैगरेको सास रोकिएर आयो,
हतार हतार गर्दै हिँड्दै जाँदा
रुमालले मेरो मुख थुनियो
`आमा´भन्न सम्म दिइएन,
सिंहले भोग लागेको बेला सिकार समाए जसरी
मेरो हात समातियो,
जिउ नै सिरिङ्ग भएर आयो ।
न त भाग्न खोज्दा,भाग्न दिए,
न त सहयोग माग्न खोज्दा सहयोग।
ती बाघले खाइ नसक्ने ज्यान भएका नरपिचासहरूको अगाडि
म कलिली बालिकाको केही लागेन।
घिसार्दै र पछार्डै
जङ्गल भित्र लगे,
पिडाले बगिरहेको मेरो आँसुको वास्तै नगरी
क्षणभरमै यौन शोषण र बलात्कार गरे
र
मिनेट बित्दा नबित्दै ज्यानलाई लासमा परिणत गर्दिए।
कहाँ थाहा थियो त मलाई,
मेरो मृत्यु यति दर्दानाक हुन्छ भन्ने !
सोचेको पनि थिइनँ,
कुनै दिन म आफ्नै देशको दाजुहरूबाट शोषित भई बलात्कृत हुन्छु,
अनि कलिलै उमेरमा चितामा जलेर परलोक जान्छु भनेर ।
निर्मला जस्तै गरेर म
आज छोरी भएकै कारण
कसैको सिकार भएँ ,
कसैको यौन चाहना परिपूर्ति गर्ने
साधन भएँ
मेरो आमाको काख र बुबाको काधबाट टाढा भएँ ।
परलोकसँग नजिक भएँ ।
परलोकबाट नियाल्दै छु,
मलाई न्याय दिन कसैले सकेनन्
किनभने मेरो बलात्कारी त कसैको संरक्षणमा रहेछ
जसलाई न त कानुनले केही गर्न सक्छ न त संविधानले नै !
अब मेरो विन्ती छ सरकार
महिला राष्ट्रपति भएको देशमा,
अब निर्मला र मैले जस्तो जीवन अरूको नहोस्
सक्छौ अपराधीलाई कारबाही गर,
ताकि
बलात्कार गर्ने सोच्नसम्म कसैले नसकुन्
सक्दैनौ भने
पूर्वप्रधानमन्त्री,मन्त्री,सां सदको सुरक्षागार्डलाई
नारीको सुरक्षामा खटाऊ
त्यसपछि बल्ल सुरक्षित भएर बाच्छन्
मातृत्व जोगाउन,दुनियाँ हाक्न र अमर बन्न
जन्मिएका दिदी र बहिनीहरू
अनि बल्ल बन्छ समृद्ध नेपाल।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 






