धर्मवीर भारतीको सङ्क्षिप्त परिचयः
आधुनिक हिन्दी साहित्यका प्रमुख लेखक, कवि, नाटककार र सामाजिक विचारकमध्ये एक धर्मवीर भारती (२५ दिसम्बर, १९२६ — ४ सितंबर, १९९७) प्रख्यात साप्ताहिक पत्रिका ‘धर्मयुग’ का प्रधान सम्पादक पनि हुन् । धर्मवीर भारतीलाई १९७२ मा पद्मश्रीद्वारा सम्मानित गरिएको थियो । उनको उपन्यास ‘गुनाहों का देवता’ सदाबहार रचना मानिन्छ । ‘सूरज का सातवां घोड़ा’ लाई आख्यान कथनको अनुपम प्रयोग मानिन्छ । जसमा सुप्रसिद्ध भारतीय निर्देशक श्याम बेनेगलले फिल्मसमेत बनाए । ‘अंधा युग’ उनको सुप्रसिद्ध नाटक हो । इब्राहीम अलकाजी, राम गोपाल बजाज, अरविन्द गौड़, रतन थियम, एम के रैना, मोहन महर्षि तथा अन्य विभिन्न भारतीय रङ्गमञ्च निर्देशकहरूले यस नाटकको सफल मञ्चन गरेका छन् । साहित्यमा विद्यावारिधि गरेका भारतीले विभिन्न पत्रपत्रिका तथा कोशका सम्पादक, प्राध्यापकका रूपमा कार्य गरे । सन् १९९९ मा उदय प्रकाशको निर्देशनमा साहित्य अकादमी दिल्लीका लागि डॉ॰ भारतीमाथि एक वृत्तचित्र पनि निर्माण भएको छ ।
प्रमुख कृतिहरू :
कथा सङ्ग्रह : मुर्दों का गाँव, स्वर्ग और पृथ्वी, चाँद और टूटे हुए लोग, बंद गली का आखिरी मकान, साँस की कलम से, समस्त कहानियाँ एक साथ
काव्य रचनाहरू : ठंडा लोहा, सात गीत वर्ष, कनुप्रिया, सपना अभी भी, आद्यन्त
उपन्यास: गुनाहों का देवता, सूरज का सातवां घोड़ा, ग्यारह सपनों का देश, प्रारंभ व समापन
निबन्ध : ठेले पर हिमालय, पश्यंती
एकाङ्की / नाटक : नदी प्यासी थी, नीली झील, आवाज़ का नीलाम आदि
पद्य नाटक : अन्धा युग
आलोचना : प्रगतिवाद : एक समीक्षा, मानव मूल्य और साहित्य
पद्मश्रीबाहेक भारतीले पाएका केही प्रमुख पुरस्कार तथा सम्मानहरू निम्न छन् :
• हल्दी घाटी श्रेष्ठ पत्रकारिता पुरस्कार १९८४
• महाराणा मेवाड़ फाउन्डेसन १९८८
• सर्वश्रेष्ठ नाटककार पुरस्कार सङ्गीत नाटक अकादमी दिल्ली १९८९
• भारत भारती पुरस्कार उत्तर प्रदेश हिन्दी संस्थान १९९०
• महाराष्ट्र गौरव, महाराष्ट्र सरकार १९९४
• व्यास सम्मान के के बिड़ला फाउन्डेसन
भाषान्तर कवताको यस शर्ङ्खलामा उनै सुप्रसिद्ध लेखक भारतीको एक कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।
(स्रोत : विकिपिडिया)
कविताको मृत्यु
धर्मवीर भारती
यो कसको शव बोकेर हिँड्यौ ?
र यो वटवृक्षको छहारीमुनि
कुन अभागीको लास रोकिएको हो ?
उसको गोडामुनि मुन्टो निहुर्याएर बसी
कसले भन्छ कविता मर्यो ?
मर्यो कविता
सुनेनौ तिमीले ?
हो, त्यही कविता-
जसको आगोले
बन्यो सूर्य
जम्यो धरती
फैलियो वर्षा
र जसको काखमा अचेत पुर्बी हावा
पुष्पपत्रहरूमा अडियो ?
त्यही कविता
जुन विष्णुपदबाट निस्क्यो
र ब्रह्माको कमण्डलुबाट उम्लेर
बादलका तहहरूलाई हल्लाउँदै
बटुल्दै चन्द्रमाका रजत फूल
हल्लाएर शम्भुको कैलाश पर्वत
उत्रेर आयो मानिसको धरतीमा
हिँड्यो फेरि मुस्कुराउँदै
शस्यश्यामल फूल, फल, बाली फुलाउँदै
स्वर्गदेखि पातालसम्म
बग्यो जुन एउटा धारा बनेर
अन्ततः रहेन तर एक दिन त्यो
त्यही कविता मर्यो
एउटा तुलसीको पात र
दुई थोपा गङ्गाजलबिना
मर्यो कविता, सुनेनौ तिमीले ?
भोकले खायो उसको जवानी
त्यस अभागीको सिउँदोको सिन्दुर
मर्यो क्षयरोगको बिरामी बनेर
र ताराहरूभन्दा पनि निरपराध सन्तानहरू
बाध्य छन् भिक्षा माग्न
या पटरीका किनारहरूबाट उठाएर
बेच्छन्
आधी जलेका
कोइलाहरू ।
(सम्झना आउँछ मलाई
भागवत्को त्यो प्रसिद्ध भनाइ
जब ब्रजकी एउटी गोपिनी
निस्किई दही बेच्न
र कृष्णको मोहक सम्झनामा
हराएर सुद्धिबुद्धि
आफै बन्न पुगेकी थिई दही
र यी निरपराध बालकहरू पनि
बेच्न निस्किए कोइला
बन्न पुगे आफै कोइला
कृष्णको लीला)
र अनाथ छन् अब यी कोइला पनि
किनकि यिनको सहारा पनि गयो अब सधैँका लागि
भोकले खायो उसको जवानी
त्यसो त निकै असल थियो कविता
तर थियो धनहीन, निर्बल थियो
र बिचरा गरिब मर्यो !
मर्यो कविता ?
जवानी मर्यो ?
मर्यो सूर्य ताराहरू मरे
मरे, सारा सौन्दर्य मरे ?
सृष्टिको प्रारम्भदेखि चल्दै आएको
प्रेमका हरेक श्वासमा गुन्जिँदै आएको
मनुष्यताको कथा मर्यो ?
झुटो हो यो !
यति कमजोर छैन मान्छे !
परेलीको पानी र निधारको पसिनाले
सिँच्दै आयो सधैँ जसले स्वर्गसमेतको जग
यी परिस्थितिले बनाइदेलान् त यसलाई निर्जीव !
झुटो हो यो !
उठ्ने छ फेरि ऊ
र भेट्ने छ सूर्यको उज्यालो
भेट्ने छ ताराहरूको जगमग
कात्रोमा बेरिएको सौन्दर्यले
फेरि भेट्ने छ किरणहरूको पदचाप
उठ्ने छ फेरि ऊ
र बटुलेर छरिएका सबै स्वरहरू
पुछेर तिनमा लागेको रगत
फेरि बुन्ने छ नयाँ कविताको स्वरलहरी
नयाँ मनुका नयाँ युगका चम्किला गीतहरू !
भोक, रोग, गरिबी किन नहोस्
मानिसको सृजना शक्ति
यी सबैभन्दा माथि छ
र कविता आवाज हो सृजनाको ।
फेरि प्रकट भएर भन्ने छ कविता-
“के भयो र संसार मसानघाट बनेर
अझ मेरो अन्तिम आवाज बाँकी छ,
भइसक्यो पशुत्वको अन्त्य
मानवताको अब सुरुवात बाँकी छ !”
लेऊ, तिमीलाई फेरि नयाँ विश्वास दिन्छु म,
दिन्छु नयाँ इतिहास !
कसले भन्छ कविता मर्यो ?
***
‘दूसरा सप्तक’ बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।