अचम्ममा नपर्नू ल
जिन्दगीलाई उँधैउँधो बगाइपठाएर
स्मृतिको अप्ठ्यारो किनारामा
समयले छेउ लगाइराखेको बालुवामाथि
बाटो भुलेर बहने हावाका हातले
अन्जानमा कोरिएका अस्पष्ट चित्रहरूसँग
प्रेमले सम्हालेर राखेको एक पत्ती फोटो दाँज्दै
आफ्ना अमूल्य समय बेला बेला खर्चिरहनेमा
सायद म पनि एक हुनसक्छु ।

सुनेकी थिएँ
– माया बग्छ ओरालो
– मन बग्छ उकालो ।

धर्मराउँदो समयको बैशाखी बनाउँदै आफैँलार्ई
तल….फेदीबाट सधैँ माथि उकालो चढ्न
हरदम प्रयत्न गरिरहने
भुइँकुहिराका बथानको पछि लाग्दै
सँगै आकासिन खोज्ने मनले
बाटो पहिल्याउन नजानेर त्यही कुहिरोमाझ
बरालिइहिँड्ने यायावर हावाका
मायालु औँलाहरू चलमलाउँदा
बनिँदै मेटिँदै गर्ने स्वैरकाल्पनिक चित्रहरूसँग
प्रेमले सम्हालेर राखेको एक पत्ती फोटो दाँज्दै
मानेडाँडालाई दाहिने पारेर एकटकले उभिइरहने
मबाहेक अरु को हुन सक्ला !

सम्झनाका लेकभरि हिउँ फुलेको समय
त्यही लेकको ठिक सामुन्ने
ध्यानस्थ बूढोे पहाडको शिरमा पाइला राख्दै
उदाउने बालक घामको पाइला लर्बरिँइदा
हिउँका थाकमाथि पग्लिँदै
फेरि बन्दै गर्ने किरिङमिरिङ चित्रहरूसँग
प्रेमले सम्हालेर राखेको एक पत्ती फोटो दाँज्दै
नोस्टाल्जिक भएर फाटकवारि
चिम्सा आँखाले प्रतीक्षाको सिमाना स्पर्श गरिबस्ने
म नै त हूँ !

साँच्चै !
प्रेमको एक पत्ती फोटो
दिलमा खिलेर राखेको बर्सौं भयो
यति बिघ्न जतनले सम्हालेर राखेको फोटोलाई
थाहा छैन, म किन बिनाआयुका चित्रहरूसँग दाँजिरहेकी छु ?
धत्, म पागल !
जो बर्सौंदेखि त्यही एउटै फोटोलाई बेहद प्रेम गरिरहेछु !