मलाई यसरी रिसाउन मन छ
कसैले फकाउन नसकोस्
मलाई यसरी निदाउन मन छ
कसैले उठाउन नसकोस्
एक पटक,
आफ्नै खबर चाहिएको छ
मलाई म बन्ने अवसर चाहिएको छ
मैले जुन तारालाई आँखा तर्छु
सबेरै त्यही तारा खस्नु पर्छ
मैले रबरलाई जुन बिन्दुसम्म तन्काउछु
रबर त्यही बिन्दुमा अड्किएर बस्नु पर्छ
मेरो आँखाले देखेको कुरा
दिलको नजिकसम्म आउनु पर्छ
मैले घमन्डी बन्ने अवसर पाउनुपर्छ
अरुलाई खुसी बनाउन
के के सम्म गरिएन ?
कहाँ कहाँसम्म पुगिएन ?
रित्तोपनसँग साटिने आँट गरिएन कि?
खाली पेटमा घन्टौं हावा भरिएन कि?
जब अवसर आयो आफू हुने
म अरुकै भैसकेको रहेछु
जसले मलाई चिनेको थियो
उसले पनि बिर्सि सकेछ
हो मलाई,
ऐनाले पनि चिन्न सकेन
अब,
मलाई मजस्तै बन्नु छ
आफ्नहरुले घमन्डी भनुन्, मूर्ख भनुन्
खेतालाहरुले यो अवसरवादी भनुन्
तर, सम्झिरहुन्
मलाई केवल म बन्नुछ ।
रनपा १५, चितवन, नेपाल
हालः टेक्सस, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

