सुरेन्द्र-शाही-गुलाब-कान्छो
मलाई लाग्छ
म र हरिणमा केही फरक छैन
ऊ कसैलाई हानि गर्दैन
म पनि कसैलाई हानि गर्दिनँ
तर,
बाँच्नकै निम्ति जो कोहीबाट
सधैँ भागिरहनु पर्छ ।
ऊ जंगल चहार्दै घाँस चर्छ
पानी पिउँछ र जंगल नै
उसको घर हो, उतै बस्छ
ऊ कसैलाई हानि गर्दैन ।
हो,
म घरमा बस्छु
म पनि खान्छु
थोरै कमाउँछु
धेरै संघर्ष गर्छु
बरु म भोक्कै बसेर
अरुलाई खुवाउँछु
तर,
कसैको भाग खोस्दिनँ
कसैलाई रुवाउँदिनँ ।
निर्दोष हरिणलाई चारो खोज्दा
बाघ, भालु, स्याल, ब्वाँसा सिंह
र,
पानी पिउन जाँदा अजिंगर गोही आदिबाट
जोखिम मोल्नुपर्छ
त्यस्तै मलाई जाली, गुण्डा, फटाहा
घुसखोरी, भ्रस्टचारी आदिबाट
पसिना बगाएर, परिश्रम गरेर
कमाएको एकछाके मानु
एकसरो नांगो शरीर छोप्ने टालो
जोगाउन निकै जोखिम मोल्नुपर्छ ।
हरिणका चार खुट्टा छन्
हात हुनुपर्ने खुट्टा पनि खुट्टा छन्
मसँग पनि चार खुट्टै छन्
फरक यत्ति हो कि
खुट्टा हुने हात मेरा हातै भएका छन्
ममा जे छ सबै उसमा छ
उसमा जे छ ममा त्यो छ
तर,
ऊ बोल्दैन
म बोल्छु
ऊसमा बुद्धि छ
ममा बुद्धि र विवेक छ
ऊ जंगलको सबै भन्दा अभागी लाग्छ
म संसारैको भाग्यमानी ठान्छु
जो एक मानव भएर जन्मेको छु
कसैलाई रुवाएको छैन
बरु
ममाथि हमला गर्नेलाई
एक मुस्कानको धर्सोले जितेको छु
अरु युद्धमा प्रयोग गर्ने ती
हतियारलाई हतियार सम्झिन्छन्
म कलमलाई हतियार मान्दछु
त्यसैले त
म र हरिण उस्तै उस्तै लाग्छ ।