रमेशराज-आचार्य.
सपिङ मलमा हैन, जलमा पनि हैन
र सारीमा पनि हैन!!
उनलाई मैले घाँसकाे भारीमा देखेकाे हुँ
पहिलो पटक खर भएकाे बारीमा देखेकाे हुँ!!उनकाे सेताे सुन्दरता
बिहानै कालाे भैँसी बाँधेकाे भकाराेमा उदाउँछ !
दिनमा एक पटक मात्रै उदाउने सूर्यलाई पछि पार्दै
फेरि पूजा काेठामा उदाउँछिन् उनी
निधारतिर झरेकाे कपाल कानतिर सार्दै !
क्रमशः खेत, बारी, मेला-पात
दिनभर उपस्थित भएको प्रत्येक ठाउँमा
उज्यालो छरेर उनी
साँझ फेरि याे मनमा उज्यालो छर्न
मेराे मेसेजमा उदाउँछिन्।

शुद्ध गाउँले जैविकता उच्चारण हुने गम्किला ओठहरु
आफ्नाे कर्ममा गदगद गुलाफी गालाहरु
सफलताको गन्तव्यलाई नियालेका चम्किला आँखाहरु
श्रमकाे कफन बाँधिएकाे भाग्यमानी निधार
बीचमा मान मर्यादा र इज्जतकाे इजाजतप्राप्त नाक !
भन्देऊ न काेही के याे आहा ! छैन ?
सुन्दरता खाेज्न कविहरु
कता-कता भाैँतारिएका छन् मलाई थाहा छैन ।

सादा पाेसाकमा सझिएकी ऊ
उच्च विचारकी ब्राण्ड हाे
जिम्मेवारीकाे लामाे बाहुलाले छाेपिएका उस्का पाखुरा
पहाडका पाखाहरु र कलेजका पुस्तकका पानाहरुमा
उत्तिकै सल्बलाउँछन्
याे सुन्दरता र सभ्यताको पर्ची पर्वतलाई थमाउने
उनका बाबा र मामुलाई भेट्न मन छ यत्रतत्र
कुन संस्कारको हतियारले कुँदेर बनाएकाे हाे
अस्मि नामकाे प्रमाणपत्र !!

सकारात्मक विचारले ओतिएका
रमाइला र घमाइला शब्दहरुले पाेतिएका
उस्का अनलाइन सञ्जालका भित्ताहरु
कहीँकतै प्रेम मिसिएका कित्ताहरु
पढिरहूँ लाग्छ याे मन बाँध्ने ती फित्ताहरु ।

उनलाई देखेर आफ्नाे जीवन सार्थक ठानेकाे
म भित्रकाे एउटा म
उनकाे आचरणमा डुबेर
मरिहत्ते गरेको छ
त्यसैले मलाई
कालीगण्डकीकाे कलिलाे बतासमा विलय भएर
उनका कलिला ओठहरुमा ठाेक्किन मन छ।