आफ्नैहरुले धोका दिएको इतिहास लेख्दालेख्दै
 रित्तिँदै गइरहेका कलमहरु
कहिले मातृभूमि त कहिले देशको सिमानाहरुमा सन्तानको आहुति दिएर
रितिँदै गइरहेका आमाहरुका काखहरु
व्याक्तिगत स्वार्थहरुमा दिनदिनै डुब्दै गइरहेको
रगतका  साइनोहरु
अपराधहरुको बीचमा पिसिँदै गरेका
माया, प्रेम र विश्वासहरू
जाति र धर्मको आडमा बाँडिएर धर्म सङ्कटमा
 पर्दै गरेका आस्था र अस्तित्वहरु
पिठ्यूँभरि धुलो बोकेर न्याय मागिरहेका कोर्टकचरीका लाखौँलाख फाइलहरु
आन्दोलनको नाममा जलेर खाक भएका
कार्यालयहरू, धरोहरहरु
हाम्रो भाग्यजस्तै खाल्टैखाल्टा परेका
गाउँ, बस्ती अनि चिया बगानका सडकहरु
हेर्दाहेर्दै बिजनेसमा परिणत हुँदै गरेका ठूल्ठूला नाम र दाम बोकेका
स्कूल, कलेज र युनिभर्सिटीहरु
टाउँकोभरि जिम्मेवारी बोकेर
हतास भई परदेश लाग्न बाध्य
बेरोजगारी युवाहरु
सबै उस्तोउस्तै लाग्छ अचेल।