-पुष्कर रिजालहामी हारेको अनुहार नदेखाउन
हामी रोएको आँसु नचुहाउन
हाम्रा भत्केका आशा नचलाउन
हाम्रा बदलिएका भाषा नसुनाउन
मैले चाहिनँ
र त मनाइनँ !
तिम्रो नाम लिएर
आफ्नो सुनको खटिया बनाउने धेरै छन्
महान् भनी तिमीलाई नै घटिया बनाउने धेरै छन्
देश लुटेर भाग्दा मरे पनि
धुरी चढेर भुइँमा झरे पनि
यहाँ सहिद भन्ने धेरै छन्
हेर न! बदनामहरू पनि तिमीनेरै छन्
त्यसैले म तिम्रो अपमान गर्न जानिनँ
माफ गर सहिद मनको फूल चढाएकै छु
पछाडि ढुंगा हानिनँ
नौटंकी समारोहमा
मैले आउन मानिनँ ।