१. हजुरबा

(डा. निरज भट्टराई)

तपाईं बित्नुभन्दा
ठीक सात दिन पहिले
मलाई उपहार दिनुभएको थियो
मेरै अनुहार प्रिन्ट गरिएको टिसर्ट !

लगाएर निस्केको पहिलो दिन नै
किलामा अल्झियो टिसर्ट, थोरै उध्रियो
धागो निस्केको थियो
धागो तान्दै गएँ, सिलाई उध्रिँदै गयो
हेर्दाहेर्दै मेरो अनुहार
धागो बनेर हरायो टिसर्टबाट

म पनि उध्रिँदै गइरहेछु भित्रभित्रै
हराउनेछु धुवाँको धागो बनेर एक दिन

तपाईं भएको भए सोध्ने थिएँ—
को हो जो तानिरहन्छ धागो
म उध्रेको ठाउँबाट !?

२. नातिनी

(रोशन परियार)

करोडौँ खप्परका गिदीहरू
फलामको कन्तीमा राख्नू,

ओदानभित्रको खाली भागमा
घिसारेर घामलाई छोडिदिनू,

नुन नहाल्नू, मसला नहाल्नू,
बेस्वादे गिदीहरू पाकिरहून् !

विभेदको थालमा पस्केर
विभेदीहरूलाई अघाउन्जेल खुवाउनू !

खाना नमीठो भएपछि
भान्से खोज्नेछन्,
भान्सेको तीन पुस्ता खोज्नेछन्

त्यति बेला
मेरो हजुरबा दमाईं थिए भनिदिनू !

 

३. घर

(मुकुल दाहाल)

घरमा बसीबसी
ऊ सोचिरहेछ—
घर बनाउनु छ !

जीवनमा बनाइने
अनगिन्ती घरहरूमध्ये
कुन घर हो—
ऊ बस्न चाहेको घर ?

४. जूनकिरी

(मुकुन्द प्रयास)

आधा मात्र बनेको ईश्वरको घरबाट
आधा रातमै ईश्वर हराएको कुरा
बिर्सिएको हुनुपर्छ ईश्वरका भक्तहरूले,
बाँसघारीले बिर्सिएको हुनुपर्छ
र ईश्वरको सृष्टि गर्नेहरूले बिर्सिएको हुनुपर्छ ।
नबिर्सिएर
आजसम्म ईश्वरको खोजी गरिरहनेहरू
जूनकिरी भएका छन्— जूनकिरी !!

 

५. प्रतिवाद

(रामगोपाल आशुतोष)

एकान्तबाट निकालेर
भीड
कोलाहल
जात्रा
पर्व घुमाएर
एकान्त पुर्यायौ ।

तिमीले लिएर हिँडेको सन्नाटा
तिमीलाई फाप्ने छैन !

मलाई मेरो एकान्त
फिर्ता चाहिँदैन,
बस्
मेरो सन्नाटासँग खेल्न
बन्द गर !