एन बी अन्जान
ऊ मर्यो केवल मर्यो
मर्यो तर बाँच्यो
मरेर पनि बाँच्यो?
– अचम्म
ऊ खरानी भयो
माटोमा मिल्यो
खोजीमा हाड्खोर
अस्तित्वमा हाजिर छन् ।
बस् तर,
ऊ जिउँदै छ बाचेकै छ
सबैको मनमस्तिष्कमा छ
अझै हातेमालोमा छ
मर्न पनि जान्नु पर्छ ।
कस्तो मरण ?
– त्रसित र आशङ्कित
हो, मरण
आखिर सबैमा
रक्तसञ्चार बन्द हुन्छ
श्वासप्रश्वास रोकिन्छ
अनि शिथिल हुन्छ
बस्  निर्जीव वस्तुझैैँ
चेतनाशून्य
दुईचार दिन
एउटा परिवार रुन्छ
शोकाकुल बन्छ
मर्नु यही त हो
मृत्यु सबैको हो
यस्तै त हो ।
* होइन
मृत्यु त्यसको हो
कातर र परजीवीको ।
– हँ, अझ भयभीत आशङ्का
यहाँ सबैको नयन भिज्छ
वर्षौँवर्ष देश रुन्छ
सिङ्गो इतिहास रुन्छ
यस्तो मृत्यु ।
कस्तो मृत्यु ?
कस्तो मरण?
सबैको आखाभरी
सबैको यात्राअघि
सबैले मनैदेखि
अनि पूजनीय
आदरसत्कारणीय
मनमन्दिरमा
पुष्पगुच्छा र
रङ्गबिरङ्गले सिर्जित
ऊ जिउँदै छ ।
ऊ भगवान् हो?
ऊ ईश्वर हो?
* होइन ।
– आश्चर्य
ऊ को हो ?
आखिर जिउँदै छ ।