आयुष बडाल
हिजो आज त जिन्दगी भएको छ
हिसाब नमिलेको बिजगणित जस्तो
नदीले छोडेको किनारा जस्तो
कतै सबैथोक भएजस्तो
कतै केही पनि नभएजस्तो।

जिन्दगी भएको छ
भूकम्प पछिको भग्नावशेषजस्तो
पानी नपाएर छटपटाएको माछाजस्तो
अथवा
कयौँ दिन खाना नपाएको मान्छेले भर्खर खाना खान पाएर खुसी भएजस्तो
कतै सबैथोक भएजस्तो
कतै केही पनि नभएजस्तो।

सोच्दै गर्दा थाहा पाएँ
कसैको साथ बिना खास नहुने रैछ जिन्दगी
सधैँभरि एकैनाश नहुने रैछ जिन्दगी
कहिलेकाहीँ त
जिन्दगीको खेलमा
सपना पनि क्षणभरमै तुहिँदोरैछ
कालसँगै रहरहरु पनि टुट्दोरैछ
उमेर पाक्दै गर्दा आफन्त पनि टाढिने रैछ ।

कहिले साह्रै दुःख त कहिले साह्रै सुख
अचम्मै रहेछ यो जिन्दगी
जिन्दगीको खेलमा उत्तीर्ण हुन गाह्रो पर्ने रैछ
प्रेम, माया र साथ र संघर्षबिना जिन्दगी सफल नहुने रैछ।