मनोज पनेरू

पहिला लाग्थ्यो
सामाजिक संजाल
स्मृति नभएको समाज हो
बुझाई होइन
आवेग अभिव्यक्तिको माध्यम ।

अहिले पनि त्यस्तै नै लाग्छ ।

पहिले लाग्थ्यो
अनुभवहरु निजी हुन्छन्
बिस्तारै लाग्दै गयो
अनुभूति भने निजी हुन्
पक्ष वा विपक्ष
सर्मथन वा विरोध
केही खुत्याउन
एक रोज्नै पर्छ र ?

पक्ष वा विपक्षको
लिग्लिगे दौडमा
स्व–बुझाइ भने हराउँदै जाने
हे कृष्ण !
गीतामा किन भन्न लुकायौ ?
तर्कले नबुझिएको चित्त
विराट–स्वरुपको
एक भ्रम्कोमा (भ्रमको झल्कोमा) शरणागत
गान्डिव उठाएका अर्जुनहरु
केका पक्षमा जितेर
कस्को विपक्षमा जितेर
कुन् बसुन्धरा एक्लै भोग्ने हँ ?

पहिले लाग्थ्यो सामाजिक संजाल
मायावी–तिलस्मी समाज
भित्तोमा लेख्नु
कालो पाटीमा खरीले लेखेझैँ न हो ।

गणित शिक्षकले
गाइड हेर्दै मिहिनेतले प्रमाणित गरेको
आर यच् यस् इक्कोयल्सटु एल् एच् यस्
नेपाली कक्षामा लेखिएको
तत्सम शब्दको तालिका मेटेर
अघि छर्रलङ्ग बुझिएको हिसाब
फेरि बुझौँ भन्यो
घन्टौँ सफा कालो पाटीमा
घोरिँदा पनि नबुझिने
त्यो कालोपाटीजस्तै न हो यो भित्तो ।

अहिले भने त्यस्तो लाग्दैन ।

भित्तोका पोस्ट
भित्तोका सेयर
भित्तोका लाइक
भित्तोका कमेन्ट प्रति–कमेन्ट
कुन् सड्को, भित्रो (आफू भित्रको) बदलियो
मेटे पनि नमेटिने गरी
छोपे पनि उदाङ्गिने गरी
लुके पनि देखिने गरी
स्वयंको स्मृति नरहेको
मायावी–तिलस्मीबाट उम्केर
कसरी पो भौतिक–निसृत हुन्छ हँ ?

माग्ने भइयो
सारा संसार दाता देखियो
ठग भइयो
सारा संसार मुर्गा देखियो
साधु भइयो
सारा संसार चेला–चेली देखियो
पटकौँ सुनियो
फूलको आँखामा फूलै संसार
फूल भने अहँ !
बरु फुल (मुर्ख) पो रहियो ।

अनुभवबाट सृजित अनुभूति
मौरीको आँखामा–फूलै संसार
गोब्रे किराको आँखामा–गोबर संसार

पुनश्चः
अनुभव उही भए पनि
अनुभूति नितान्त निजी हो
फरक अनुभूति
संयोग होइन ।