
एकादेशमा अर्बौं वर्ष पहिले
एउटा ठूलो टाउको थियो
संयोगले एकदिन
फुट्यो त्यो विशाल टाउको
निस्किए अनेक टाउकाहरु
र घुमीघुमी खेल्न थाले एकनासको लुकामारी
तिनै टाउकाहरुमध्ये
एउटा मात्र टाउको यस्तो थियो
जहाँ कपाल उम्रन सक्यो
पसिना निस्कन सक्यो
पैदा भए अनेकन् लिखाजुम्राहरु
स्वेदज, अण्डज, उद्भिच र जरायुचहरु
तिनै लिखाजुम्राहरुमा
पैदा भयो एक विशिष्ट जुम्रो, ‘रामापिथेकस’
जसबाट डराउन बाध्य भए
अन्य कायर लिखा जुम्राहरु
अन्य हिंस्रक उडुस उपियाँहरु
कालान्तरमा,
राजा भयो त्यै विशिष्ट जुम्रो
र गर्न थाल्यो सजातीय लडाईं
बनेर अनियन्त्रित उच्छृङ्खल
तोड्दै गयो मर्यादाका पर्खालहरु
र नाच्न थाल्यो नाङ्गो हिंसात्मक नृत्य!
आज त्यही जुम्रोले
करोडौं वर्ष पहिले
आफू पैदा भएको टाउकोलाई
क्षणमै नष्ट गर्ने चेतावनी दिँदैछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
