कवि भोकाएछ
यसो यताउति हेरेछ,
उ भोकमा पनि अब खान चाहँदैन
किनकी यो समाजमा उसको
भोकको मूल्य लागिरहेछ,
साहित्य बिकिरहेछ कागजका नोटमा
र त्यो कालो कोटमा देश बेचिरहेको
एक कविले देखेछ,
उसले फेरि भोक बिर्सिएछ
देश सम्झिएछ
केही लेख्न खोज्दा
उसकै भोकमा उसले लेखेछ
देशको कविता,
त्यो नबेचिएको कविता इतिहास बनेछ।

अब त्यहाँ हरेक कवि भोकाएछन,
इतिहास पल्टाइ हेरेछन,
भेटेछन ती कागजका नोटमा
बेचिएका कविताहरु,
पछि फेरि बुझेछन
त्यहाँ कविताको नभएर कविको
मुल्य लागिरहेथ्यो,
कवि पो कविता बेचिरहेथ्यो,
त्यहाँ देशको नभएर देहको
मूल्य लागिरहेथ्यो,
अब आँसु बग्न थालेछन,
भोको कविका भोकाएका आसुहरु।।