उत्तरी ध्रुव र दक्षिणी ध्रुवको मेल
कहिले भएको थियो र ?
किनारहरुलाई नदिको बहावले
कहिले एक हुन दिएको थियो र ?
किन कहिले जोडिँदैनन् ती समानान्तर रेखाहरु
किन मोडिदैनन् विपरीत दिशातर्फ मोडिएका
ती पद्चापहरु
हो, यिनै यक्ष प्रश्नहरु मन मस्तिष्कमा घुमिरहन्छन् !

जिन्दगीका भोगाइहरु अनि यी कथानक लाग्ने दृष्टान्तहरु
धोका र छलकपटरुपी ती पासाहरु
खोइ कस्ले जानेको रै’छ र भोलि के हुन्छ भन्ने
आजको माया भोलिको डरलाग्दो कालो छायाँ हुन्छ भन्ने
हो त्यही रहस्यमय जादुई दुनियाँजस्तो
आजको साँचो प्रेम बरमुडा ट्रयाङ्गलको फ्युजन जस्तो भएको छ
तिनै कहालिलाग्दो भेदजस्तो
न त गहिराई नाप्न सकिने न त त्यो भेदको पर्दाफास गर्न सकिने
चाहे त्यो भूमध्यरेखाको काल्पनिक धार होस्
या त्यो छ्द्मभेषी रहस्यभित्र हराएको
त्यही अजीवित प्रेम उत्सर्ग होस्
साथ दिन्छु भन्नेहरु मझधारमै छुटेर जान्छन्
साँचो मायामाथि घात-प्रतिघातले जीवन लुटेर जान्छन्
महासागरको भुमरीमा गोलचक्रजस्तै
घुम्दै अनन्त गहिराईमा
हो, त्यही वर बरमुडाको गर्भमा विलीन भएजस्तै
यहाँ साचो प्रेमको अन्त्येष्टि भएको छ
आखिर ती सागरका छालहरुका ती तरङि्गत रहस्य
मेथेन हाइग्रेभिटीको होस् या
इलेक्ट्रोनिक फगको होस्
त्यो रहस्य आखिर धेरैको समाधि बन्दैछ
त्यस्तै
यहाँ साँचो प्रेम निहत्था मरिरहेछ
कहिले नफर्किने गरी
फेरि कहिले नब्युँतने गरी…!

तानसेन, पाल्पा

हालः अमेरिका