मेरा बाको निधारमा देखिएका मोजाहरु
खुम्चिएको छालाको आकार मात्र होइनन,
यी त तिन पिढी लाइ हुर्काउन चढेका संघर्षका पहाडहरु हुन्
जुन तिमीले चढ्ने हिमाल भन्दा कैयौं गुणा अग्ला र अप्ठेरा छन्,

मेरा बाका धमिला आँखाहरु
यसै धमिलिएका होइनन्,
यी त आफ्नै सन्तानका दुखका कचेरा फाल्दा
आफ्नो आँखामा पसेका पीडाका नमेटिने मयलहरुले धमिलिएका हुन्,

मेरो बाका सिरका रौहरु यसै झरेका होइनन्
यी त मेरो भाग्य उमार्न लिएको ऋण तिर्न बेचिएका हुन्,
र सिर मा लाउने टोपीले तिनै बचेका रौँले
मेरो उम्रेको भाग्य स्याहार्न ओत दिएका हुन्,

मेरो बाका हातका चक्र हरु
यसै मेटिएका होइनन्,
यी त मलाई सुन्दर भबिस्य कोर्ने
कलम किनिदिने सर्त मा काम संग साटिएका हुन्,

मेरो बाले टेक्ने लट्ठी हरु
कैले कहिँ यसै भाचिएका होइनन्,
यी त मेरो सुख थप्न बाले बोकेको गह्रौ भाऱी
बाले झैँ थाम्न नसकेर बाकै साथ छोड्न बाध्य भयका हुन्,

मेरा बाले पिउने चुरोटका खिल्लीहरु
यसै सकिएका होइनन्,
यी त बाले झैँ सबै सहन्छु भन्ने नक्कल गर्दा
सानो आगोको झिल्को ले भस्म भएका लाचार ठुटाहरु हुन्,

मेरा बाले बुन्ने डोकोमा
सयौं आँखा हरु यसै कहाँ छन्,
यिनले त आफु खोक्रो भएर
आफु भित्र सबैलाई अटाउनु पर्छ भनेर मलाई सिकएका छन्,

मेरा बाले लगाउने लुगा हरु
यसै निथ्रुक्कै भिजेका होइनन्,
यी त म भिज्छु कि भनेर ओत बनाउदा
मेहेनत को बादल बाट झरेका घना बर्सामा आफै ओत नपाएर भिजेका हुन्,

स्याङ्जा