“”””””””””””””””””””””””””””
अब कहिल्यै आउने छैन
बाङ्गो शरीर तिम्रो सामु
हेर्नुपर्ने छैन
अबदेखि कुरुप अनुहार
भन्दै अन्तिम वाक्य
गयो ऊ नफर्किने गरी !
गोरो सुनौलो छालाको अघि
खुट्टामा बाँध्दा पनि नसुहाउने
जो थियो सानू मेरी सानू भन्थ्यो
त्यो गयो
सदा सदाका लागि।
हो, थपेन भव्य महलमा
एउटा पनि इँट्टा
बरु भत्काइदियो उल्टै सपनाहरु !
प्रेम- प्रेम – प्रेम भन्दै लुछिरह्यो
विषालु आँखाले हेरिरह्यो
मायाको याचना गरिरह्यो
आजाद हुन्छु ऊदेखि
तर अचम्म !
फेरि पनि
सुन्दर आँखाले हेर्दैछ आकाशदेखि ।
सायद उसलाई प्रेमको नशाले लग्यो
अतृप्त- अतृप्त हुँदै गयो
मलाई मेरा रहरहरुका नशाले लान्छ
आकांक्षाको आकाशगंगाले लान्छ
मेरो मन त्यसै फतक्क भयो।
बुझेनौं हामीले एक अर्कोलाई
गरेनौं समझदारी
मेरो त के कुरा आफैलाई
नबुझी गयो बिचरा !
म पनि कुन बुझक्ड थिएँ र !
केमा पो गरेँ र त्याग
घमण्डको बोकेछु गह्रौँ भारी !
उफ! जुन छालाको गौरव थियोँ
चाउरी पर्यो त्यो पनि !
जुन मासुको गर्व थियो
सुकी गयो त्यो पनि।
उसको अनुपस्थितिमा म खुल्ला भएछु
गहिरो गहिरो भएछु
सोचिरहेछु कस्तो बबुरो रहेछ।
आज त्यही कौशीमा छु
जहाँ सधै हुन्थे
तर फरक लाग्दैछ
यो घाम र जुन
आफू र कौशी दुवै ।
दिमाग ठन्डा ठन्डा हुँदैछ
जब ऊ छैन
मलाई मन पर्दैछ
जति बेलासम्म ऊ थियो
मेरो मनमा घृणाबाहेक केही थिएन ।
मान्छे राम्रो थियो
प्रेमिल थियो
यति सुन्नको लागि मान्छे मर्नुपर्छ यहाँ
सायद, ऊ यसैका लागि मर्यो
र, म यही भन्दैछु।
अहो ! मेरो दिमागमा
यी कुराहरु आउन
हृदयमा प्रेम पलाउन
साँच्चै मर्नुपर्यो ऊ
प्रेमबोध नभएर ।
त्यति बेला माफ नदिएकी
आज माफ दिँदैछु
आभारी हुँदैछु तिमीप्रति
मेरो मुटुको राजा !
कहिल्यै नभेनेको शब्द
´प्रिय` भन्दैछु
हृदय कम्पित हुँदैछ
तिम्रै लागि,
त्यही नजरले हेर्दैछु
यो मेरो अँगालो सुम्पिदैछु
आऊ आलिङ्गन गर
प्रेमको भोक मेट
सदा सदाका लागि
तृप्त होऊ
तिम्रै अनुकूल भोग !
छाला र अनुहारभन्दा माथि उठेर
सायद अहंकार छोडेर
नीलो आकाश हेर्दै म भन्दैछु
कुरुपभित्र सुन्दर रहेछौ
तिमी सही रहेछौ
माफ गर अन्तिम एकफेर !
म पनि कति अज्ञानी
असमझदारीमा जीवन राखेर
तिमीलाई जलाएर
लम्मेतान पश्चातापमा जलिगए
कसैको जीवन यस्तो नहोस्
प्रभू !
हरे!
कतै भ्रम र भूल
जीवनकै हिस्सा पो हो कि
जिउने क्रममा हावी हुने
म गम्भीर तर्कनामा परे !
हे राम !
म कस्तो फसादमा परेँ
सुन्दर जीवन कुरुप पारे
बेलैमा बोध नभएर !
सिर्फ एकफेर बोलाउन
सानू भनेर राजा !
अफसोचको भारी
लिएर बसेकी छु आज
तिमीलाई माफी दिन भनेर
आफूले माफी मागेर !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।