आमा,
तिमी किन मौन छौ यसरी ?
हेर त,
कसरी पछ्याइरहेछन् तिमीलाई
टुहुरा बनेका तिम्रा आफ्नै शब्दहरुले !
किन बन्द भएका होलान् हँ वाक्य बन्द भएजस्तै
परेलीहरु पनि ?
आमा,
खै के के भन्दा हुन्
मौनतामा तिम्रा शब्दहरुले ?
के के गुन्दा हुन् मनमनै तिम्रा बिचारहरुले ?
सुन्छ्यौ कि सुन्दिनौ हँ हाम्रो आवाज ?
लौन भन आमा
किन यसरी मौन भएकी तिमी?

ती आँखाले के मागेका होलान् आमा ?
पानी या अरु केही ?
माया या सामिप्यता ?
गुन्दा गुन्दै मनमनै मनको चाल
बुन्दा बुन्दै यति लामो जीवन जाल
किन यसरी एक्कासी निशब्द भएकी आमा?
हाय दैब! तिमी पनि कति निस्ठुरी
केमा हुन गएछ मेरो गल्ति ?
के भो कसो भो
खै कहाँ चिप्लिएँ म ?

आमा,
तिम्रा सुकोमल औँलाहरु
सुस्तरी सलबलाउँदै के खोज्दैछन् भन त !
खोज्दैछन् सहारा आफैँलाई
या खोज्दैछन् केही भन्न सुम्सुम्याएर मलाई,
“यति बिघ्न पीर नगर न तिमी”
यसो भन्दै तिम्रो मौनता बोल्छ
मेरो आँसु खस्छ ।

सम्झाउँछन् सबै मलाई
प्रारब्धको हिसाब फिँजाएर
बोलेझैँ गर्छन् तिम्रा आँखा
“भो यसरी पीर नगर”भनेर
उस्तैगरि भक्कानो छुट्छ हरे, भगवान् !
के गरुँ म ?

भन न आमा म के गरुँ?
कसो गरूँ ?
छटपटिन्छ मन
जति सोच्छु
उति नै गाह्रो हुन्छ झन् झन्
भनेझैँ लाग्छ ती आँखाहरुले
“गाह्रो मलाई हैन,
भयो बरु तिमीलाई”
आमा, निशब्द छु म पनि !

कति निरस छ यो सन्नाटा
कति काहालीलाग्दो छ यो निष्पट्ट अँधेरो
तै पनि
तिम्रा कोमल औंलाहरू सलबलाउँछन्
मलाई सुमसुम्याउछन्
हो आमा !
तिम्रो मौन भाषा बुझ्दछु म,
तिमीले भनेझैँ लाग्छ
“गाह्रो मलाई हैन
भयो बरु तिमीलाई ।”